अभिनेत्री मनिषा कोइराला बनिन् एचपीभी खोप अभियानका लागि सद्भावना दूत
काठमाडौँ, १७ माघ । अभिनेत्री मनिषा कोइराला एचपीभी खोप अभियानका लागि सद्भावना दूत नियुक्त भएकी छिन्। आगामी २२ माघ देखि देशभर एचपीभी खोप अभियान सुरु हुँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोइरालालाई सो अभियानको सद्भावना दूतका रुपमा नियुक्त गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको हो।
सो अवसरमा बोल्दै मन्त्री प्रदीप पौडेलले एचपीभी खोप देशव्यापी रुपमा अघि बढाउने बताएका छन्। यो अभियानको एचपीभी भाइरसबिरुद्ध लड्न सघाउने उनले बताए। नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई नेपाल सरकारले भ्याक्सिन उपलब्ध गराउने बताए।
खोप लगाउने केन्द्रका रुपमा विद्यालयहरूलाई राखिएको छ। कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई यो खोप दिइनेछ।
खोप लगाउने अवधिभित्र विद्यालयमा नपुगेको खण्डमा वडामा उपलब्ध गराइने बताए। मन्त्री पौडेलले अभिनेत्री कोइराला यसपछि पनि तीन वर्षसम्म सञ्चालन हुने सबैखाले खोप अभियानहरूमा सद्भावना दूत रहने बताए।
कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्।
उनले यसको महत्त्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताइन्।
क्यान्सरबाट गुज्रिएकी उनी अहिले क्यान्सरबिरुद्धका अभियानमा सक्रिय रुपमा सहभागी हुँदै आएकी छन् ।
सम्पर्क इमेल : [email protected]