सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पूर्वखोला गाउँपालिकाले बनायो आफ्नै कानून
कानून उल्लंघन गर्नेलाई ५०० देखि ५० हजार रुपैयाँसम्म जरिवाना
पाल्पा, १४ माघ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न पूर्वखोला गाउँपालिकाले आफ्नो छुट्टै ऐन बनाएको छ ।
सुर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको भन्दै यसको प्रयोगलाई नियन्त्रण गर्न गाउँपालिकाले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) सम्वन्धी ऐन – २०८१ जारी गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ४(ख) १३ ले प्रदान गरेको अधिकार बमोजिम सोही ऐनको दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गाँउपालिका गाउँसभाले यो ऐन बनाएको हो ।ऐनको प्रस्तावनामा उल्लेख छ ।
गाउँसभाबाट गत २६ पुसमा पारित भएको यो ऐन पूर्वखोला गाउँपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भईसकेको छ ।
गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले सुर्तीजन्य पदार्थ सेवनको कारणले लाग्ने रोगहरुको प्रकोप बढी रहेको अवस्थालाई नियन्त्रण गर्नका लागि ऐन जारी गरेको बताए । उनले भने, ‘हाम्रो गाउँपालिकामा पनि नसर्ने रोगहरु (क्यान्सर, मुटु, मिर्गौला, मधुमेह) को प्रकोप बढ्दो छ र यसको प्रमुख कारक सुर्तीजन्य पदार्थ हो भन्ने प्रमाणित भईसकेको छ । अब यसलाई नियन्त्रण गर्नुको विकल्प छैन, त्यसैले ऐन बनाएर यसको नियन्त्रण तथा नियमन गर्न खोजेका हौँ ।’
अध्यक्ष थापाले ऐनको सहज कार्यान्वयनका लागि अब निर्देशिका बनाउने तयारीमा समेत रहेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले गाउँपालिका सभाबाट पास भएको ऐन राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनको चरणमा आइसकेको भन्दै यसका लागि सबै पक्षबाट साथ सहयोग हुने विश्वास व्यक्त गरे । ‘जनस्वास्थ्यसंग जोडिएको कुरा छ, यसलाई कार्यान्वयन गर्नु सबैको दायित्व हो । आशा छ सबैको साथ हुनेछ,’ उनले भने ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहेका सूचना अधिकारी मोहन ढकालले गाउँपालिकामा नसर्ने रोगको प्रकोप बढी रहेको अवस्थामा कानून निर्माण गरी यसलाई सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न खोजिएको बताए । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी ऐन जारी गर्ने पूर्वखोला पाल्पाकै पहिलो गाउँपालिका रहेको दावि गरे ।
ऐनमा के छ ?
पूर्वखोला गाउँपालिकाले बनाएको ऐनमा संघीय सरकारले बनाएको ऐन भन्दा परिमार्जित व्यवस्था छ । यो ऐनमा सुर्तीजन्य पदार्थमा चुरोट बिडी सिगार तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुडखासंगै हिटेड टोबाको, इसिगरेट, भेप्स, हुक्का, शिशा समेतलाई समेटेको छ ।
गाउँपालिका क्षेत्र भित्र सुर्तीजन्य पदार्थको उत्पादन गर्ने उद्योग स्थापना तथा सञ्चालन गर्न नपाईने, सरकारी कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाको १०० मिटर वरपर सुर्तीजन्य पदार्थको खरीद विक्री र प्रयोग गर्न नपाईने, धार्मिक स्थलसंगै सार्वजनिक स्थल मात्रै होईन निश्चित ठाउँ तथा कुनै भौगोलिक क्षेत्र गाउँ वा वडालाई नै सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्न सक्ने उल्लेख छ ।
सुर्तीजन्य पदार्थका विक्री वितरणका लागि पालिकासंग अनुमति लिनु पर्ने, १८ वर्ष मुनिका बालबालिका, गर्भवती महिलाहरुलाई सुर्तीजनय पदार्थ खरीद बिक्रीमा सहभागी हुन नपाउने लगायतका व्यवस्था राखिएको छ ।
यस्तै सुर्तीजन्य पदार्थका उत्पादक तथा व्यावसायीको विज्ञापन हुन नदिने तथा स्पोन्सर नलिने व्यवस्था सो ऐनमा छ । यस्तै कुनै पनि सुर्तीजन्य पदार्थको बट्टा रयापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबुलको बाहिरी कुल भागमध्ये कम्तिमा ९० प्रतित भागमा संघीय कानूनले तोके बमोजिमको चेतावनीमुलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनबाट भएको घातक असर सम्वन्धी रंगिन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छापिएको र अंकित गरिएको हुनुपर्ने उल्लेख छ ।
५०० देखि ५० हजारसम्म जरिवाना
गाउँपालिकाले बनाएको कानूनमा सार्वजनिक तथा निषेधित स्थलमा अटेरी गर्दै सुर्तीजन्य पदार्थको सेवन गरेमा ५०० रुपैया जरिवाना असुल गर्ने तथा सार्वजनिक स्थलबाट बाहिर निकाल्ने सम्मका सजाय तोकेको छ ।
यस्तै अटेरी गर्ने व्यक्ति कर्मचारी रहेका विभागीय कार्वाही समेत गर्न सकिने उल्लेख छ । यसैगरी विज्ञापन तथा प्रायोजन गरेको भेटिएमा २५ देखि ५० हजार रुपैयाँसम्म जरिवाना लिन सक्ने उल्लेख छ ।
हेर्नुहोस पूर्वखोला गाउँपालिकाले जारी गरेको सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण) सम्वन्धी ऐन – २०८१
सम्पर्क इमेल : [email protected]