नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने निर्देशिका जारी
काठमाडौँ, १३ माघ । सरकारले जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिंङ, निर्देशिका २०८१ जारी गरेको छ ।
आइतबार स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै सो निर्देशिका जारी गरेका हुन् ।
समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ यो निर्देशिका ल्याइएको बताइएको छ । उक्त निर्देशिका आएपछि अब देशैभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाहरुको श्रवणशक्ति परीक्षण गर्ने बाटो खुलेको छ ।
निर्देशिका स्वीकृत गरेपछि मन्त्री पौडेलले बालबालिकाको जन्मजात सुन्न नसक्ने अपांगता समयमै उपचार पाएमा धेरै हदसम्म रोक्न सकिन्छ भन्ने विज्ञहरुको सुझावका आधारमा निर्देशिका बनाएर परीक्षण अनिवार्य गर्ने निर्णय गरेका गरेको बताए ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अब यस निर्देशिकाअनुसार महिलाको सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए नभएको परीक्षण गर्नुपर्ने जानकारी दिए ।
‘स्वास्थ्यकर्मीहरुले श्रवण सम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप पड्तालका लागि नाक,कान, घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा छ,’ उनले भने ।
निर्देशिकामा जन्मिएको १२ देखि २४ घण्टाभित्र वा फलोअपका लागि पहिलो पटक आएका बेला प्रजनन क्षमताबारे अभिभावकसँगसमेत जानकारी लिएर परीक्षण गर्नुपर्ने भनिएको छ ।
निर्देशिकाअनुसार प्रारम्भिक परीक्षण स्थानमा उपचार सम्भव नभएका बालबालिकाका लागि प्रविधियुक्त ओएइ उपकरण भएका नाक, कान, घाँटीसम्बन्धी अस्पतालमार्फत परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ । परीक्षण उपकरण विशिष्टिकृत अस्पतालहरुमा विस्तार गर्ने मन्त्रालयले तयारी पनि अघि बढाएको छ ।
नेपालमा जन्मिएका एक हजार शिशुमध्ये १.८ जनामा जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको मन्त्रालयको विवरणमा छ ।
२०७८ को जनगणना अनुसार ५ वर्ष मुनिका ३ हजार बालबालिकामा श्रवण शक्तिसँग सम्बन्धित अपांगता देखिने गरेको थियो ।
तर, बालबालिकामा हुने ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने अध्ययनहरुले देखाएका छन् ।
यसअघि केही अस्पतालमा यस्तो परीक्षण भए पनि प्रजनन सेवा भएका सबै स्थानमा यो सेवा उपलव्ध थिएन ।
सम्पर्क इमेल : [email protected]