सन्दर्भ : विश्व कुष्ठरोग दिवस

‘कुष्ठरोगसँग जोडिएका लाञ्छना र विभेदको अन्त्य गर्न संकल्प गरौँ’


आज ७२ औं विश्व कुष्ठरोग दिवसको अवसरमा, हामी नेपालले कुष्ठरोग विरुद्धको लडाईँमा हासिल गरेको उल्लेखनीय उपलब्धिलाई उत्साहपूर्वक मनाउँदैछौँ ।

सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रिय स्तरमा जनस्वास्थ्य समस्याको रूपमा निवारण गरिएको घोषणा भएयता, नयाँ बिरामीको संख्या हरेक वर्ष लगातार घटिरहेको छ ।

नेपालमा सन् २०१९ को तुलनामा, सन् २०२४ मा नयाँ बिरामीको संख्यामा २५% र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा करिब ५०% ले घटेकोे छ ।

लगातार पाँच वर्ष देखि ७०% भन्दा धेरै स्थानीय तहहरूले बालबालिकामा कुष्ठरोगको संक्रमण शून्य रहेको रिपोर्ट गर्दा, हामीलाई थप हौसला प्रदान गरेको छ र कुष्ठरोगमुक्त नेपालतर्फ नजिक पुर्‍याएको छ ।

राष्ट्रिय स्तरमा कुष्ठरोगका बिरामीको संख्यामा उल्लेखनीय कमी आए तापनि, यसको संक्रमण पूर्ण रूपमा रोक्न बाँकी रहेको कुरा स्मरण गर्न महत्वपूर्ण छ । ७७ जिल्लामध्ये १८ जिल्ला अझै उच्च जोखिममा छन् ।

कुष्ठरोग बारे गलत धारणाले डर र सामाजिक बहिष्कारलाई बढावा दिन्छ, र उपचार खोज्नमा ढिलाई गराउँछ र संक्रमणको चक्रलाई अझ बढाउँछ ।

निरन्तर लाञ्छना र विभेदले संक्रमित व्यक्तिहरूलाई प्रभाव पार्ने मात्र नभई निदान र उपचारका प्रयासहरूमा अवरोध सृजना गर्छ । यसलाई समाधान गर्न, हामीले जनचेतना बढाउने, आम जनतालाई शिक्षा दिने र समावेशी नीतिहरू कार्यान्वयन गर्न आवश्यक छ ।

नेपालले कुष्ठरोगबाट प्रभावित व्यक्ति विरुद्ध हुने लाञ्छना र विभेद अन्त्यका लागि २० औँ ग्लोबल अपील २०२५ लाई अंगीकार गरी कुष्ठरोगसँग सम्बन्धित लाञ्छना र विभेद अन्त्य गर्ने आफ्नो प्रतिबद्धता जाहेर गरेको छ ।

सासाकावा फाउन्डेशनले नेतृत्व प्रदान गरेको यस ग्लोबल अपीलले कुष्ठरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक समस्या पनि रहेको औंल्याएको छ ।

यस वर्षको मूल नारा ‘Unite. Act. Eliminate’ ले हामी सबै – नेतृत्व वर्ग, स्वास्थ्यकर्मीहरु, समुदाय र साझेदारहरू – लाई कुष्ठरोग निवारण गर्न र हात्तिपाइले, कालाजार, डेंगी जस्ता उपेक्षित उष्णप्रदेशिय रोगहरुको सम्बोधनमा सहकार्य गर्न आह्वान गरेको छ ।

लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना र विभेदको अन्त्य गर्न संकल्प गरौँ । हाम्रो संयुक्त प्रयासले हामी कुष्ठरोगमुक्त नेपाल निर्माण गर्न सक्छौँ । आजैबाट हाम्रो पहल सुरु गरौं । धन्यवाद ।

# डा. पाण्डव विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *