नेशनल प्याथ ल्याबको १२ औँ शाखा लगनखेलमा खुल्यो
काठमाडौं, १२ माघ । नेशनल प्याथ ल्याबको १२ औँ शाखा ‘सेन्टर फर साइटोजेनेटिक्स एण्ड मोलिक्युलर प्याथोलोजी’ ललितपुरमा सञ्चालनमा आएको छ ।
उद्घाटन समारोहकाबीच शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगनखेलस्थित कर्मचारी संचय कोषको भवनको चौथो तल्लामा खुलेको ल्याबको १२ औँ शाखामा रहेको संस्थाको शिलालेख अनावरण गरेका थिए । शाखाको कार्यालय उद्घाटन भने नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले गरेका थिए ।
यस प्रयोगशालामा सामान्य जाँचदेखि विशेष प्रकारका जेनेटिक जाँचहरु अत्याधुनिक उपकरण र दक्ष प्राविधिक जनशक्तिबाट उपलब्ध गराईने बताइएको छ ।
ललितपुर शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा मोलिक्युलर, जेनेटिक्स र साइटोजेनेटिक्स सम्बन्धि परीक्षण गर्ने प्रयोगशालामा सूचीकृत रहेको छ ।
के के सेवाहरु छन् ?
नेक्स्ट–जेनेरेशन सिक्वेन्सिङ (एनजीएस): यो प्रविधि जटिल जेनेटिक परीक्षणका लागि प्रयोग गरिन्छ । यसले रोग पहिचान, क्यान्सर प्रगतिका चरणहरू र अनुवांशिक रोगहरूको निदान र उपचारमा महत्वपूर्ण योगदान पुर्याउँछ । यो प्रविधिद्वारा एनआईपीटी र क्यान्सरको प्रिसिजन मेडिसिनका लागि गर्नैपर्ने ‘जिन स्तरीय’ जाँचहरु गरिन्छ ।
साइटोजेनेटिक्स र एफआईएसएच : यो परीक्षणले क्रोमोजोमहरूको संरचना र संख्यामा हुने परिवर्तनहरूको अध्ययन गर्दछ । क्यान्सर र अन्य जेनेटिक विकारहरूको सटीक निदानका लागि यो सेवाले अभूतपूर्व सुधार ल्याउनेछ ।
नवजात शिशु परीक्षण : नवजात शिशुमा खतराजन्य अवस्थाहरू जस्तैः जन्मजात थाइराइड समस्या, कन्जेनाईटल एड्रिनल हाइपरप्लेसिया, सिस्टिक फाइब्रोसिस र ग्यालेक्टोसेमियाजस्ता समस्याहरू समयमै पत्ता लगाई उपचारको बाटो खोल्ने यो सेवा सबै नवजात शिशुले पाउनेछन ।
यसैबीच उद्घाटन समारोहलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले नेशनल प्याथ ल्याबले सञ्चालनमा ल्याएका सेवाबाट आम सर्वसधारणले सुपथ मूल्यमा सेवा लिन पाउने विश्वास व्यक्त गरे उनले ल्याब परीक्षणका लागि स्याम्पल विदेश पठाउनुपर्ने समस्यालाई केही हदसम्म कम गर्न सफल भएको बताए ।
यसैगरी उनले सरकारी संस्थाहरुमा नहुने परीक्षणहरुलाई निजी क्षेत्रबाट सञ्चालित ल्याबहरुसँगको सहकार्यमा सहजै परीक्षण गर्ने व्यवस्था मिलाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भुषालले नेपालमा यतिको प्रविधियुक्त गुणस्तरीय प्रयोगशाला हुनु सारा नेपालीहरुको लागि गर्वको विषय भएको र यसबाट धेरै भन्दा धेरै लाभ लिनको लागि सम्पूर्ण सरोकारवालाहरुलाई आह्वान गरे ।
नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिल विक्रम कार्कीले प्रयोगशाला परीक्षण नेपाल बाहिर पठाउँदा अनेक किसिमका समस्या, जस्तै नमुनाको गुणस्तर सुनिश्चितता, चिकित्सक र प्रयोगशालाको समन्वय नहुने भएकोले बिरामीको निदान तथा उपचारमा समस्या हुने र अब नेपालमै यस्ता विशिष्टीकृत परीक्षणहरु उपलब्ध भएको हुँदा धेरै सजिलो हुने विश्वास व्यक्त गरे ।
वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजालले अहिलेको आवश्यकता बुझेर ठुलो जोखिम मोलेर यस स्तरको प्रयोगशाला सञ्चालन गरेको भन्दै नेशनल प्याथ ल्याबलाई बधाइ तथा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले प्रयोगशाला देशकै अनुवांशिक अनुसन्धान स्रोत केन्द्रका रुपमा विकास हुने विश्वास व्यक्त गरे । साथै जेनेटिक सम्बन्धि राष्ट्रिय स्तरमा विभिन्न अनुसन्धान गर्न नेपाल सरकारसँग सार्वजनिक निजी साझेदारी गर्न तयार रहेको समेत बताए ।
डोल्मा इम्प्याक्ट फन्डका कार्यकारी प्रमुख टिम गोसरले प्रयोगशालालाई डिजिटल टेक्नोलोजीमैत्री बनाउँदै लैजाने र सोको लागि एआई तथा टेक्नोलोजीको प्रयोग गरि विश्वस्तरीय प्रयोगशाला सेवा नेपालमा उपलब्ध गराउने बताएको छ । यस्तै उसले यस प्रयोगशालालाई विश्वका अन्य स्वास्थ्य सस्थाहरुसँग सहकार्य गरी नविनतम सेवा उपलब्ध गराउने योजना रहेको उल्लेख गरेको छ ।
संस्थाका अध्यक्ष रुद्रबहादुर कार्कीले गुणस्तरीय सेवा प्रदान गर्नका लागि ललितपुरमा प्रयोगशाला सञ्चालनमा ल्याइएको धारणा व्यक्त गरे ।
नेशनल प्याथ ल्याब वि.सं. २०६९ सालमा बुटवलबाट सुरु भएको अत्याधुनिक प्रयोगशाला हो । अहिले यसका देशभर १२ वटा शाखा सञ्चालनमा छन् । बुटवलसंगै काठमाडौँ, भैरहवा, गुल्मी, अर्घाखाँची, घोराही, तुल्सीपुर, पोखरा, चितवन, धनगढी र महेन्द्रनगरसम्म यसका शाखाहरु सञ्चालनमा छन् ।
सम्पर्क इमेल : [email protected]