चिकित्सक लाईसेन्स परीक्षाको नतिजा प्रकाशित, दुई तिहाई बढी अनुत्तीर्ण
काठमाडौं, ९ माघ । नेपाल मेडिकल काउन्सिलको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा अत्यन्त कमजोर देखिएको छ । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा हिजो र आज सञ्चालित परीक्षाको बेलुका प्रकाशित नतिजाले दुई तिहाई बढी परीक्षार्थी अनुत्तीर्ण भएको पाइएको छ ।
काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार परीक्षामा एमबीबीएस र बीडीएसका गरी कुल ८४४ जनाले सहभागीता जनाएपनि उत्तीर्ण संख्या २६२ जना (३१.०४ प्रतिशत) मात्रै भयो । परीक्षामा सहभागी भएका मध्ये ५६२ जना अनुत्तीर्ण भए ।
डा देवले मेडिकल तर्फ ७७० जनाले परीक्षाका लागि फारम भरे पनि १७ जना अनुपस्थित रहेका थिए । परीक्षामा ७५३ जनाले सहभागिता जनाउँदा २४१ जना (३२.०१ प्रतिशत) मात्रै उत्तीर्ण भए । यो समूहमा ७ जनाको नतिजा वीथहेल्डमा रहेको छ ।
यस्तै बीडीएस तर्फ कुल ९५ जनाले फारम भरे पनि परीक्षामा ४ जना अनुपस्थित रहँदा ९१ जनाले मात्रै सहभागिता जनाए । त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) मात्रै उत्तीर्ण भएका थिए ।
लाइसेन्सिङ परीक्षामा अनुत्तीर्णको संख्या दुई तिहाई बढी हुँदा मेडिकल तथा डेन्टल कलेजको पढाईको गुणस्तरमा समेत प्रश्न उठन थालेको छ ।
सम्पर्क इमेल : [email protected]