विश्व स्वास्थ्य संगठनबाट बाहिरिदै अमेरिका, ट्रम्पले गरे कार्यकारी आदेशमा हस्ताक्षर

डब्लुएचओको समग्र कोषको १८ प्रतिशत वित्तिय सहयोग अमेरिकाबाट हुने गर्दछ

काठमाडौँ, ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट अमेरिकालाई फिर्ता लिने प्रक्रिया सुरु गर्न कार्यकारी आदेशमा पुन: हस्ताक्षर गरेका छन् ।

सोमबार दोस्रो कार्यकालको शपथ लिएपछि उनले गरेका आप्रवासन देखि विदेश नीतिसम्म विभिन्न दर्जनौँ विषयका हस्ताक्षर गर्ने क्रममा डब्लुएचओबाट बाहिरिने विषय पनि एउटा थियो ।

‘ओ हो यो त ठूलो कुरा हो,’ ट्रम्पले आदेशमा हस्ताक्षर गर्नु अघि भनेका थिए ।

त्यसपछि उनले कोभिड – १९ को महामारी तथा अन्य स्वास्थ्य संकटलाई डब्लुएचओले गलत तरिकाले व्यवस्थापन गरेको आरोप लगाएका थिए ।

उनको यो हस्ताक्षर पछि अमेरिकाले कम्तिमा एक वर्षका लागि डब्लुएचओलाई दिदै आएको सबै वित्तिय योगदानहरु बन्द गर्नेछ । हुन पनि संयुक्त राज्य अमेरिका अहिलेसम्म डब्लुएचओलाई सबैभन्दा ठूलो वित्तिय सहयोग गर्ने देश हो । डब्लुएचओको समग्र कोषको करीव १८ प्रतिशत वित्तिय सहयोग अमेरिकाबाट हुने गर्दछ । डब्लुएचओको पछिल्लो दुई वर्ष (२०२४ – २०२५)को बजेट ६.८ बिलियन थियो ।

त्यसो त ट्रम्प प्रशासन डब्लुएचओबाट फिर्ता हुनु अहिले पहिलो घटना भने होईन ।

उनले सन् २०२० मा पनि यो कदम चालेका थिए । कोभिड- १९ को महामारीका बेला डब्लुएचओले विश्वलाई भ्रमित गर्दै चीनलाई सहयोग गरेको आरोप लगाउदै बाहिरिने निर्णय गरेका थिए ।

तर उनीपछि राष्ट्रपति बनेका जो बाइडेनले पुरानो निर्णय उल्टाउँदै डब्लुएचओमै रहने र सहयोग गर्ने अमेरिकी नीतिलाई निरन्तरता दिएका थिए ।

ट्रम्पको पछिल्लो कदमप्रति जनस्वास्थ्यका विज्ञहरुले आलोचना गरेका छन् । उनीहरुले यो पछिल्लो कदमले विश्वभरका मानिसलाई मात्रै नभई अमेरिकी नेतृत्व र वैज्ञानिक क्षमतालाई पनि हानी हुने चेतावनी दिएका छन् ।

उनीहरुले पछिल्लो कदमले खासगरी एड्स, मलेरिया र क्षयरोग जस्ता संक्रामक रोगहरुसंग लड्न तथा दशकौँको उपलव्धीहरुलाई पार्न सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *