चिकित्सकको न्यूनतम पारिश्रमिक मासिक एक लाख देखि दुई लाख ५० हजार रुपैयाँ तोक्न सिफारिस
काठमाडौँ, २९ पुस । चिकित्सकहरुलाई उनीहरुको योग्यता र अनुभवको आधारमा मासिक न्युनतम एक लाख रुपैयाँ देखि दुई लाख ५० हजार रुपैयाँसम्मको पारिश्रमिक दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा गठित कार्यदलले सिफारिस गरेको छ ।
इन्टर्न चिकित्सक, मेडिकल अधिकृत आवासीय चिकित्सक तथा अन्य चिकित्सक लगायत सम्पकूर्ण स्वास्थ्यकर्मीहरुको सेवा सुविधामा न्यूनतम सरकारी सरह एकरुपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्यय्न गरी प्रतिवेदन पेश गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमा यस्तो सिफारिस गरिएको छ ।
मन्त्रालयकै अतिरिक्त स्वास्थ्य सचिव डा टंक बाराकोटी संयोजक रहेको उक्त कार्यदलले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदनमा एमबीबीएस तथा बीडीएस चिकित्सकहरुको हकमा १ लाख देखि १ लाख २५ हजार रुपैयाँ, एमडी एमएस एमडीएस गरेका चिकित्सकको हकमा १ लाख ५० हजार देखि १ लाख ७५ हजार रुपैयाँ सम्म डीएम एमसीएच तथा सो सरह उपाधी प्राप्त गरेका चिकित्सकको हकमा दुई लाख २५ हजार देखि दुई लाख ५० हजार रुपैयाँ सम्म उल्लेख छ ।
यो पारिश्रमिकमा यसअघि दिईदै आएको जोखिम, नन् प्राक्टिसिङ भत्ता, तथा विशेषज्ञ चिकित्सक भत्ता समेत जोडिएको छ ।
८ असोज २०८० मा पोखरास्थित मणिपाल मेडिकल कलेजमा भएको तोडफोड तथा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यभारपछि चिकित्सकहरुले देशव्यापी आन्दोलन गरेका थिए । त्यसपछि सरकार र आन्दोलनरत चिकित्सकबीच सम्झौँता भएको थियो ।
त्यसको चौथो नम्बर बुँदामा भएको सम्झौँताको कार्यान्वयन गर्नका लागि मन्त्रालयले डा बाराकोटीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
सम्पर्क इमेल : [email protected]