एचपीभी खोप अभियानका आवश्यक १७ लाख ७० हजार ४०० भाइल खोप नेपाल भित्रियो

काठमाडौँ, २९ पुस । आगामी २२ माघ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि आवश्यक भनिएको १७ लाख ७० हजार ४०० भाइल खोप आईपुगेको छ ।

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोपको पाँचौँ तथा अन्तिम खेप २ लाख ६६ हजार ६३० भाइल खोप हिजो राती १०: ३० बजे क्याथे प्यासेफिकको उडानबाट चीनबाट हङकङ हुँदै काठमाडौँ आईपुगेको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेलले एचपीभी खोप अभियानका आवश्यक सबै खोप आईपुगेको बताए । उनले यसअघि आएका सबै खोपहरु मधेश प्रदेश बाहेकका छ प्रदेशमा वितरण भईसकेको भन्दै हिजो आएको खोप संगै पहिलेको बाँकी खोपहरु मधेश प्रदेशमा पठाउने तयारी भएको बताए । उनले खोप कार्ड तथा रजिष्ट्रर्डहरु पनि पालिका तहसम्मको वितरणको व्यवस्था मिलाईएको जानकारी दिए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यसपटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् ।

यो खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्ने छ ।

डा. गौतमले किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने बताए । ‘खोप अभियान चल्छ, १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ । थप ८ हजार २०० वटा यस्ता केन्द्र तोकिएका छन्,’ उनले भने ।

डा. गौतमले खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिने बताए । यस्तै उनले अभियानका लागि १७ हजार ८४३ वटा सेफ्टी बक्स प्रयोग हुने समेत जानकारी दिए ।

विभिन्न अनुसन्धानले बार्षिक करीव २ हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *