आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तुहरुको बजार अनुगमनमा निस्कियो जनस्वास्थ्य कार्यालय काठमाडौँ
काठमाडौँ, २३ पुस । आमाको दूधलाई प्रतिस्धापन गर्ने बस्तु (विक्री बितरण नियन्त्रण) ऐन २०४९ को दफा ९ को उपदफा (६) को (घ) मा आमाको दूधलाई प्रतिस्धापन गर्ने बस्तुहरु विक्रीका लागि राखिँदा डिस्प्ले गर्न नपाइने व्यवस्था छ ।
यस्तै आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तुहरुको प्याकेटमा बच्चाको लागि स्तनपान सबैभन्दा असल दूध हो भन्ने व्यहोराको सन्देश अनिवार्य राख्नु पर्छ । ऐनको दफा ११ को उपदफा ६ को (ख)मा सो कुरा उल्लेख छ ।
तर मंगलबार जनस्वास्थ्य कार्यालय काठमाडौँबाट अनुमगनमा निस्केको टोलीले केही पसलहरुको अनुगमन गर्दा यी दुबै नियमको उल्लंघन भएको पायो ।
जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. बसन्त अधिकारीको नेतृत्वमा गएको टोलीले नयाँ बानेश्वरको किड्स पसल र टेकुको प्रकाश फार्मेसी र प्रकाश एलाइ्टसको अनुगमन गरेको थियो । सो क्रममा पसल तथा फार्मेसीहरुमा कानून विपरित यस्ता बस्तुहरुको डिस्प्ले गरेको पाइएको थियो । यस्तै कतिपय बस्तुमा १ प्रतिशत छुट र राखिनु पर्ने सन्देशहरु नभएको समेत टोली फेला पारेको थियो ।
टोलीमा रहेकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजार अनुगमनका क्रममा ऐन विपरितका कार्यहरु भएको पाएको भन्दै पहिलो पटक भएकोले उनीहरुलाई कानूनबारे स्मरण गराउँदै चेतावनी दिईएको बताईन । उनले डिस्प्ले हटाउन तथा प्याकेटमा सन्देश नराखिएका बस्तुहरुको बिक्री बितरण नगर्न पसलहरुलाई निर्देशन दिइएको बताईन ।
जनस्वास्थ्य कार्यालयका प्रमुख डा अधिकारीले ऐन भएको तर त्यसको कार्यान्वयन हुन नपाईरहेको अवस्थालाई ध्यान दिएर आजबाट टोली बजार अनुगमनमा निस्केको बताए । उनले अनुगमन कार्यलाई निरन्तरता दिने समेत बताए ।
सम्पर्क इमेल : [email protected]