अब मस्तिष्कघातको उपचार पनि नि:शुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ, २३ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मस्तिष्कघात (स्ट्रोक)को उपचार पनि निशुल्क हुने बताएका छन् । सोमबार कान्ति बाल अस्पतालको ६३ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा उनले ‘स्ट्रोक’को उपचार निशुल्क गर्ने तयारी भएको बताएका हुन् ।
‘हामीले केही दिनमा स्ट्रोकको उपचार निशुल्क हुने घोषणा गर्दैछौँ । त्यसको सम्पूर्ण तयारी लगभग पुरा भईसकेको छ,’ मन्त्री पौडेलले भने ।
सो अवसरमा उनले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार पूर्ण रुपमा निशुल्क हुने गरी ५ वटा अस्पताल तोकिएको र त्यसको कार्यान्वयन सुरु भईसकेको बताए ।
तर, १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निशुल्क सम्वन्धी ११ कात्तिकमा भएको मन्त्रीस्तरीय निर्णयमा तीनवटा सरकारी अस्पताल मात्रै उल्लेख थियो । त्यसबेला १ मंसिर २०८१ बाट निशुल्क उपचार हुने अस्पतालहरुमा कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन भनिएको थियो ।
यस्तै उनले सोमबारको कार्यक्रममा जलनको उपचार पनि नि:शुल्क सुरु भएको र त्यसका लागि पनि अस्पताल तोकिएको जानकारी दिए । ‘जलनका लागि ठूलो बजेट भार पर्दो रहेनछ, यसवर्ष हामीले मन्त्रालयको आन्तरिक स्रोतबाट व्यवस्था मिलाएका छौँ । अर्को वर्ष बजेटमै समेटने योजना छ,’ उनले भने ।
गत २ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको दुई सहित सातै प्रदेशका एक एक वटा अस्पतालमा जलन उपचार निशुल्क हुने घोषणा गरेको थियो ।
त्यसरी जलन उपचार निशुल्क हुने घोषणा गरिएका अस्पतालहरुमा काठमाडौँको कीर्तिपुर अस्पताल र वीर अस्पताल, कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा रहेका छन् । यस्तै लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल रहेका छन् ।
मन्त्री पौडेलले अङ्ग प्रत्यारोपण सेवालाई थप प्रभावकारी बनाउन मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएकाबाट अङ्ग लिने र प्रत्यारोपण गर्ने योजनालाई प्राथमिकतामा राखेको बताए । ‘मस्तिष्क मृत्यु भएका व्यक्तिको परिवारले अङ्गदान गर्न चाह्यो भने सो परिवारलाई प्रोत्साहन स्वरुप दुई लाख रुपैयाँ दिने निर्णय गरेका छौँ । यस्तै त्यसको जानकारी दिने अस्पताल वा ब्रेन डेथ भएको व्यक्ति रहेको अस्पतालाई ७५ हजार रुपैयाँ दिने व्यवस्था मिलाएको छौँ,’ उनले भने ।
यसअघि मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग दान गर्न परिवार ईच्छुक हुँदा क्रिया खर्च वापत भन्दै एक लाख रुपैयाँ दिने चलन थियो । त्यसको जानकारी दिने अस्पताललाई ५० हजार रुपैयाँ दिने गरिएको थियो ।
नयाँ नयाँ घोषणा गरे पनि मन्त्री पौडेलले सबै रोगको उपचार यसरी निशुल्क गर्दै जान नसकिने भन्दै योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको विकल्प नभएको बताए ।
उनले अहिलेको व्यवस्थालाई परिमार्जित गर्दै यसलाई प्रभावकारी बनाउन सुझाव समिति गठन गरेको र सो समितिले राम्रो सुझाव दिएको भन्दै त्यसको कार्यान्व्यन पछि स्वास्थ्यमा सुधार आउने बताए ।
सम्पर्क इमेल : [email protected]