नेपालमा भूकम्पको ठूलो झट्का महसुस

काठमाडौँ, २३ पुस । नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। बिहान ६:५० बजे उक्त भूकम्पको झट्का महसुस गरिएको थियो।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ। उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा पर्ने लोबुचेभन्दा १२५ किलोमिटर उत्तरपूर्वमा थियो।

सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्माका अनुसार सल्लेरी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भए पनि भौतिक वा मानवीय क्षतिको विवरण आइसकेको छैन।

‘भूकम्प ठूलै आएको महसुस भयो। म भर्खरै बाहिरतिर डुलेर हेर्दा यहाँ आसपास क्षति भएको चाहिँ देखिएको छैन। लोबुचेतिर बुझ्ने प्रयास भइरहेको छ,’ विश्वकर्माले भने।

नेपाली अधिकारीहरू के भन्छन् ?

नेपाली अधिकारीले चाहिँ उक्त भूकम्पको केन्द्रबिन्दु चीनमा रहेको बताएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले भनिन्, ‘यो भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीन हो। तर यसको प्रभाव नेपालका धेरै ठाउँमा महसुस भएको छ।’

उनका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ। ‘गृह मन्त्रालयले क्षतिको विवरण सङ्कलन सुरु भइसकेको बताएको छ।’

चीनमा ९ जनाको मृत्यु

उता चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले तिब्बती क्षेत्रमा हालसम्म ९ जनाको मृत्यु भएको थाहा भएको जनाएको छ। भूकम्पले तिब्बतको सिगात्से सहरका भवनहरूलाई भत्काएको छ भने मानिसहरू भागेर सडकमा निस्किएका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नेपालमा भूकम्पको ठूलो झट्का महसुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *