कान्तिलाई उपचारसंगै विशिष्किृत जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गरौँ : स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ, २२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई बालबालिकाको विशिष्टिकृत उपचार संगै यसका लागि चाहिने विशिष्टिकृत जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
अस्पतालको ६३ औँ बार्षिकोत्सव समारोहलाई सोमबार सम्वोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘बालबालिकाको उपचार गर्ने देशको एक मात्रै केन्द्रीय अस्पताल हो । देशभरबाट रिफर भएर आउने अस्पताल हो । यहाँ विशिष्टिकृत उपचार हुने गरेको छ । अब उपचार मात्रै होईन त्यसका लागि चाहिने विशिष्टिकृत जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा विकास गरौँ,’ मन्त्री पौडेलले भने ।
उनले त्यसका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेटबाट पास गरेको समेत बताए । उनले भने, ‘सिनेटबाट त पास भईसकेको छ । अरु केही प्रकृया बाँकी छ । तर हामीले कान्तिलाई बालबालिकाको उपचार निम्ति विशिष्टिकृत क्षमता प्राप्त गर्ने जति पनि एकेडेमिक कार्यक्रम छन, ती सबै कार्यक्रम कान्तिमा चल्नुपर्छ भनेर योजना अघि बढाएका छौँ ।’
उनले यसो गरेमा आम्दानी समेत बढ्ने र खटिएका जनशक्तिका लागि थप सुविधा प्राप्त हुनसक्ने बताए । ‘यहाँ काम गर्नेहरुको सेवा र सुविधाको सन्तुल मिलेको छैन मलाई थाहा छ तर शैक्षिक कार्यक्रम चल्यो भने सेवा सन्तुलन पनि मिल्छ,’ उनले भने ।
मन्त्री पौडेलले अस्पतालमा भिड बढ्नुलाई विरामीले देखाएको विश्वास हो भन्दै उपचारमा सुविधा थप्नका लागि प्रयास गर्न समेत अनुरोध गरे । उनले कतार, जापान लगायतका देशका राजदूतसंग कान्ति अस्पतालको विकास र विस्तारका लागि सहयोगका लागि कुरा भईरहेको समेत जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छा, अस्पतालका अध्यक्ष श्रीराम सुवेदी, निर्देशक डा पंकज राय लगायतले बोलेका थिए ।
सम्पर्क इमेल : [email protected]