६८ वटा विद्यालयका १३ हजार बढी बालबालिकाको निशुल्क मुटु परीक्षण सम्पन्न
काठमाडौँ, १९ पुस । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले पूर्वी नेपालका तीन जिल्लामा बृहत खालको बाल मुटु परीक्षण शिविर सम्पन्न गरेको छ । प्रतिष्ठानको जिल्ला शाखाहरुको समन्वयमा काठमाडौँबाट गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले इलाम, पाँचथर र ताप्लेजुङमा १४ देखि १८ पुससम्म निशुल्क बाल मुटु परीक्षण शिविर सञ्चालन गरेको थियो ।
शिविरको नेतृत्व गरेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले पाँच दिनको उक्त शिविरमा तीन जिल्लाका ६८ वटा विद्यालयका १३ हजार ९२ जना बालबालिकाको मुटु परीक्षण गरिएको बताए ।
सो परीक्षणबाट २४ जना बालबालिकामा बाथ मुटुरोग, ५३ जना जन्मजात मुटुरोग बालबालिकाको पहिचान भएको जानकारी दिए । यस्तै उनले परीक्षणका क्रममा १९ जना बालबालिकाहरुको शल्यक्रिया गर्नुपर्ने अवस्था पाइएको समेत उल्लेख गरे ।
उनीहरुको निशुल्क शल्यक्रिया गर्नका लागि प्रतिष्ठानले सहयोग गर्ने समेत डा. रेग्मीले बताए ।
बाल मुटु परीक्षणको लागि पूर्वी नेपाल पुगेको विशेषज्ञ सहितको टोलीमा को को थिए ?
टोली नेतृत्व गरेका डा. रेग्मीले पाँच दिने बाल मुटु परीक्षण शिविरका लागि काठमाडौँबाट ८ जना मुटुरोग विशेषज्ञ सहित १५ जनाको टोली पूर्वी नेपाल पुगेको बताए ।
सो टोलीमा मुटुरोग विशेषज्ञहरु डा. रेग्मी, डा. अवनीभुषण उपाध्याय, डा. सत्यनारायण सुवाल, डा. प्रेमराज वैद्य, डा. रामकिशोर शाह, डा. उर्मिला शाक्य, डा. अच्युत कर्ण र डा. अजय अधिकारी थिए ।
यस्तै प्राविधिकहरु अनमोल महर्जन, शारदा महर्जन, मोहन श्रेष्ठ, केशव ढकाल संगै प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्रपुरुष ढकाल, ईशा उपाध्यय, उपासना रेग्मी स्वयंसेवकको रुपमा खटिएका थिए ।
शिविरका लागि स्थानीय सरकारले समेत सहयोग गरेको डा. रेग्मीले बताए ।
उक्त शिबिरमा करीव एक हजार जनाको मुटुको भिडियो परीक्षण र २४ जनालाई औषधि वितरण गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]