लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहतका सबै सरकारी अस्पतालमा शुल्क सहितको नागरिक वडापत्र राखियो

निजी अस्पतालहरुले पनि यसैगरी नागरिक बडापत्र राख्नुपर्छ : स्वास्थ्य मन्त्री सारु

दाङ, १९ पुस । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका मातहतका सबै अस्पतालहरुमा शुल्क सहितको नागरिक बडा पत्र राखिएको छ । प्रदेश स्वास्थ्य संस्था स्थापन, संचालन, नविकरण तथा स्तरोन्नति ऐन, २०७६ को दफा २४ बमोजिम प्रदेश अन्तर्गतका सबै सरकारी अस्पतालले शुल्क सहितको नागरिक बडापत्र सार्वजनिक गरेका हुन् ।

प्रदेश अन्तर्गतका १४ वटा अस्पतालमा राखिएको नागरिक बडा पत्रमा आफू कहाँ हुने सेवा, लाग्ने खर्च र सेवा दिईने समय समेत उल्लेख गरिएको छ ।

‘यो पहिल्यै देखि नै हुनु पर्ने व्यवस्था हो । धेरै अस्पतालहरुले नागरिक बडापत्र राखेका त थिए तर त्यसमा आफूकहाँ हुने सेवाका बिबरण मात्रै उल्लेख थियो । यसपटक हामीले सेवाका विवरण मात्रै होइन त्यसमा लाग्ने खर्च र उपलव्ध हुने समयबारे पनि विवरण राख्न भन्यौँ । यसले बिरामी पक्षलाई उपचार गर्दा लाग्ने खर्चबारे पहिल्यै जानकारी हुने भयो,’ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले भने ।

उनले सेवा शुल्क सहितको नागरिक बडापत्र राख्ने व्यवस्था सरकारीसंगै निजी अस्पतालमा पनि अनिवार्य गरिएको बताए ।

‘सुरुमा सरकारीमै जोड दियौँ । निजीलाई पनि भनिसकेका छौँ । अब निजी अस्पतालहरुले पनि यसैगरी सेवा र शुल्क सहितको बडापत्र राख्नै पर्छ,’ मन्त्री सारुले भने ।

नागरिक बडा पत्रमा सेवाका बारेमा मात्रै उल्लेख हुँदा बिरामीले सेवा लिईसकेपछि पैसा तिर्ने बेलामा समेत समस्या हुने गरेको भन्दै प्रदेशस्थित मन्त्रालयले शुल्क सहितको देखिने गरी सेवा उल्लेख गर्न भनेको हो ।

खेमबहादुर सारु, स्वास्थ्य मन्त्री – लुम्बिनी प्रदेश

‘सेवा त लियो तर पैसा तिर्ने बेलामा त खङ्ग्रंङ हुने अवस्था हुन्छ नि । तर सुरुमै सेवा शुल्क थाहा भयो भने त्यो व्यवस्थापन गर्न पनि सजिलो हुने भयो । जसरी होटलमा खानेकुराको शुल्क सहितको मेनु हुन्छ यस्तै अस्पतालमा राखिएको बडापत्र मेनु हो । यसले बिरामी पक्षलाई मात्रै होइन अस्पतालको व्यवस्थापन पक्षलाई पनि सजिलो गराउँछ,’ मन्त्री सारुले भने ।

यसअघि मन्त्रालयले अनिवार्य रूपमा सार्वजानिक गर्नु पर्ने प्रावधान अनुसार उपलब्त्ध सेवा(सुविधाहरू तथा सेवा शुल्क अनिवार्य रूपमा आम जनताले देख्न सक्नेगरी सार्वजनिक स्थानमा राख्नु पर्ने र उक्त कार्य सम्पन्न गरी मन्त्रालयमा स प्रमाण पठाउन मातहतका सबै अस्पतालहरुलाई निर्देशन दिएको थियो ।

सोही अनुसार प्रदेश मातहतका सबै अस्पतालमा सेवा ग्राहीले प्रष्ट देखिने ठाँउमा शुल्क सहितको नागरिक वडा पत्र राखेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *