विद्यालय नर्स सम्बन्धि निर्देशिका संसोधन, नर्सलाई सघाउँदै विद्यार्थी पनि बन्ने भए ‘स्वास्थ्य दुत’
काठमाडौँ, १८ पुस । विद्यालय नर्स कार्यक्रम लागू भएका विद्यालयमा अब कम्तिमा दुई जना (एक छात्र र एक छात्रा) विद्यार्थी स्वास्थ्य दुत बन्ने भएका छन् । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका – २०७६ लाई संसोधन गरि बनेको नयाँ निर्देशिका कार्यान्वयनमा आउँदा विद्यालयका कम्तीमा दुई जना छात्र छात्रा स्वास्थ्य दुत बन्ने छन् ।
पुरानो निर्देशिकालाई प्रर्तिस्थापन गर्ने गरी स्वास्थ्य सेवा विभाग नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाले तयार गरेको ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका – २०८१’ लाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत ९ मंसिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वीकृत गरेका थिए ।
उक्त निर्देशिकामा कक्षा ७ वा ८ मा अधययनरत एक जना छात्रा र एक जना छात्रलाई स्वास्थ्य दुत बनाईने उल्लेख छ । उनीहरुको काम विद्यालय नर्सको कामलाई सघाउने रहेको छ । उनीहरुले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि भूमिका खेल्ने बताइएको छ ।
नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिराकुमारी निरौलाले विद्यालय नर्स कार्यक्रम लागू भएका विद्यालयहरुमा नर्ससंगै कक्षा ७ वा ८ का कम्तिमा दुई जना (छात्रा र छात्र) विद्यार्थीलाई स्वास्थ्य दुत बनाइने व्यवस्था रहेको बताईन् ।
‘तोकिएका स्वास्थ्य दुतहरुले विद्यालयमा हुने प्रारर्थानाका बेला स्वास्थ्य सन्देश भन्ने, बेला बखतमा नाटक तथा अन्य स्वास्थ्यका गतिविधिहरु गर्ने र स्वास्थ्य सचेतनाका लागि विद्यालयमा कार्यरत स्कुल हेल्थ नर्ससंग थप ज्ञान आफूहरुले पनि लिने र त्यसलाई विद्यार्थीमाझ फैलाउन मद्धत गर्नेछन्,’ उनले भनिन् ।
‘हामीलै नागरिकको स्वास्थ्य सुधार गर्न बालबालिका तहबाटै काम हुनुपर्छ भनेर यस्तो व्यवस्था गरेका हौं, स्वास्थ्य मन्त्री पौडेलले भने, ‘यसले बालबालिका र उनीहरुमार्फत समुदायको स्वास्थ्य जानकारी वृद्धि हुने अपेक्षा गरेका छौं ।’
अहिले विद्यालय नर्स कार्यक्रमका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ । हाल देशका सातै प्रदेशका एक हजार तीन सय ८६ विद्यालयमा कार्यक्रम लागू भैरहेको छ ।
सम्पर्क इमेल : [email protected]