सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्न नेपालको नीति ९०, ९० र ९०

काठमाडौँ, १८ पुस ।  विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ । यहि अवस्था रहे यो संख्या सन् २०३० सम्म ७ लाख पुग्ने अनुमान छ ।

संक्रमण मात्रै होइन मृत्यु संख्या पनि डरलाग्दो छ । अहिले पाठेघरको मुखको क्यान्सरबाट विश्वमा बार्षिक ३ लाख ११ हजार महिलाले ज्यान गुमाउने गरेका छन् । यहि अवस्था कायम रहे अवको ५ वर्ष पछि अर्थात सन् २०३० सम्ममा यस रोगबाट बार्षिक मृत्यु हुनेको संख्या ४ लाख पुग्ने अनुमान छ ।

विश्वव्यापी रुपमा हेर्दा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर बनेको छ । नेपालमा भने यसबाट संक्रमित महिलाको संख्याको हिसावले दोस्रो र मृत्युको संख्याको हिसावले पहिलो देखिएको छ ।

नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने १ हजार ३१३ जनाले यहि क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन् ।

अवस्था यस्तो रहेको बेला विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्यको समस्याको रुपमा नरहेको अवस्थामा पुरयाएर निवारण गर्ने लक्ष्य लिएको छ । र यो लक्ष्यमा नेपालले पनि हस्ताक्षर गरेको छ ।

जनस्वास्थ्यको समस्याको रुपमा नरहेको अवस्थामा पुर्‍याई निवारण गर्नका लागि प्रति एक लाख महिलाहरुमा पाठेघरको मुखको क्यान्सर प्रतिवर्ष ४ भन्दा कम संख्यामा सिमित राख्ने हो ।

‘अहिले नेपालमा प्रति लाखमा १६ जना बढी महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ । यसलाई चार गुना कम गर्नुपर्ने छ,’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकुमार लाल अगाडी थप्छन्, ‘त्यसका लागि खोप स्क्रिनिङ र उपचारलाई प्रभावकारी ढंगले अघि बढाउने नीति लिईएको छ ।’

हुन पनि सरकारले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर निवारण गर्न ९०, ९० र ९० को नीति अघि सारेको छ । स्वास्थ्य सेवा विभाग बाल तथा खोप शाखा प्रमुख डा. अभियान गौतम भन्छन्, ‘पहिलो ९० भनेको १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप कभरेज ९० प्रतिशत पुरयाउनु हो । दोस्रो ९० भनेको ३० देखि ४९ वर्ष उमेर समूहका कुल महिलामध्ये कम्तिमा ९० प्रतिशतको पाठेघरको मुखको क्यान्सर परीक्षण (स्क्रिनिङ) गर्ने र तेस्रो ९० भनेको पाठेघरको मुखको क्यान्सर निदान भएका महिलाहरुको उपचार गर्ने भन्ने हो ।’

विश्व स्वास्थ्य संगठनले ९० ७० र ९० को नीति लिएको छ तर नेपाल सरकारले बीचको ७० लाई पनि ९० नै राखेर लक्ष्य हासिल गर्ने बताएको छ ।

बरिष्ठ क्यान्सर रोग विज्ञ डा. सरिता घिमिरे पहिलो लक्ष्य हासिल गर्न नेपाललाई गाह्रो नहुने भन्दै दोस्रो र तेस्रो लक्ष्यमा बढी जोड दिनु पर्ने बताउँछिन् । ‘खोप कभरेजमा हामी अगाडी नै हुन्छौँ । ९० प्रतिशत खोप कभरेजदर पुरयाउन समस्या नहोला तर स्क्रिनिङ र उपचारमा अलि बढी मेहनत गर्नु पर्ने हुन्छ,’ उनले भनिन् ।

उनले स्क्रिनिङ भनेको रोगको लक्षण नदेखिएका वा स्वस्थ महिलाले गर्ने परीक्षण हो भन्दै स्वस्थ छु भनेकाहरु नै परीक्षणका लागि अघि सर्नुपर्नेमा जोड दिईन ।

सरकारले आगामी २२ माघ देखि देशव्यापी रुपमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुको खोप (एचपीभी) दिन लागेको छ । यो खोप लगाएपछि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना सतप्रतिशत कम हुने विज्ञहरु बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *