एचपीभी खोप अब एक डोज नै काफी
काठमाडौँ, १६ पुस । गत वर्षको एचपीभी खोप ‘डेमोस्ट्रेसन’मा करीब १० हजार किशोरीहरुलाई एचपीभी खोप दिइएको थियो । तर त्यसबेला उनीहरुलाई दुई डोज खोप दिइएको थियो । विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघ देखि सञ्चालन हुन लागेको यसपटकको खोप अभियानमा भने एचपीभी खोप एक डोज मात्रै दिईदैछ ।
‘कम्पनी उही छ, खोप पनि उही छ तर डोज घटाइयो किन ?’ मंगलबार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त आयोजनामा भएको पाठेघरको मुखको क्यान्सर र एचपीभी खोप सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले प्रश्न उठाएका थिए ।
विज्ञको तर्फबाट प्रस्तुति दिएकी डा. सरिता घिमिरे, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल र बालस्वास्थ्य तथा खोप शाखा प्रमुख रहेका डा. अभियान गौतमले एक स्वरमा भने, ‘नयाँ रिसर्च, गाइडलाइन र खोप सल्लाहकार समितिको सुझाव अनुसार खोपको मात्रा घटाइएको हो । एक डोजले नै सत प्रतिशत काम गर्ने पुष्टि भयो । त्यसैले घटाइयो ।’
अन्य खोप कार्यक्रममा जस्तै नेपालमा सुरु हुन लागेको एचपीभी खोप अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा छ ।
‘हामीले गाभीलाई खोपका लागि निवेदन दिँदा दुई डोजको लागि नै दिएका थियौँ । तर अनुसन्धानले एक डोज नै उत्तिकै प्रभावकारी भएको पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनको सुझाव र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा खोपको डोज घटाउने निर्णय गरिएको हो,’ खोप शाखा प्रमुख डा. गौतमले स्पष्ट पारे ।
विषयविज्ञको रुपमा आमन्त्रित क्यान्सर रोग विशेषज्ञ डा. घिमिरेले पनि दुई डोजको काम एक डोजले नै गर्ने भएपछि थप खोप लगाउनु पर्ने आवश्यकता नरहेको बताईन् । ‘खोप लगाएपछि जो एन्टीबडी बन्नु पर्ने हो । त्यो एक डोज लगाए पनि दुई डोज लगाए पनि फरक नपर्ने दखियो । त्यसले गर्दा एक डोज नै काफी छ,’ उनले भनिन् ।
डब्लुएचओले समेत भर्खरै सुझाव दिएको भन्दै अहिले विश्वका ६१ वटा देशहरु एचपीभीको एक डोज खोप लगाउने नीतिमा अघि सरेको समेत जानकारी दिइयो ।
कार्यक्रममा यसअघि खोप लिईसकेका किशोरीहरुलाई यो खोप आवश्यक नहुने भन्दै निजी रुपमा खरीद गरेर लगाएका वा सरकारले यसअघि गरेको डेमोस्ट्रेसनमा सहभागी भएकाहरुलाई थप खोप आवश्यक नपर्ने जानकारी दिइयो ।
यसपटकको अभियानमा पनि गतवर्ष डेमोस्ट्रेसनमा प्रयोग गरिएको चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप प्रयोग हुँदैछ । यो अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरु सहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरु समेत गरी कुल १६ लाख ८८ हजार ७६८ जनाले खोप पाउने छन् ।
यसपटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् । यो खोप अभियान १५ दिन (२२ माघ देखि ६ फागुन) सम्म चल्ने छ । त्यसका लागि गाभीबाट कुल १७ लाख ७० हजार २० भाइल खोप आउने छ ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले अभियानलाई सफल बनाउन सञ्चारमाध्यमको ठूलो भूमिका हुने भन्दै सहि सूचना र अभियानलाई प्रोत्साहित गर्ने सामग्री सहित प्रस्तुत हुन सञ्चारकर्मीसंग आग्रह गरे । उनले अभियानका बेला सुनिन सक्ने अवान्चित घटनाका विषयमा तोकिएका स्वास्थ्य अधिकारीसंग बुझेर मात्रै समाचार लेख्न समेत अनुरोध गरे ।
कार्यक्रममा स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारिताको महत्व र अभियानका बेलामा स्वास्थ्य पत्रकारहरुले चाल्नुपर्ने भूमिकाबारेमा प्रस्तुति दिएका थिए । उनले जोखिम सञ्चार नीतिबारेमा समेत बताएका थिए ।
यस्तै कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले खोप सम्वन्धी अभिमुखीकरणले सञ्चारकर्मीहरुलाई थप ज्ञान र जिम्मेवारी बोध भएको भन्दै भविस्यमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गरे ।
सम्पर्क इमेल : [email protected]