अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
काठमाडौँ, १५ पुस । अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । उनको जर्जियास्थित आफ्नै घरमा निधन भएको हो । अमेरिकी समाचार संस्था रोयटर्ससँग पूर्वराष्ट्रपति कार्टरका छोरा चिप कार्टरले उनको निधन भएको पुष्टी गरेका छन्।
अमेरिकाका ३९ औँ राष्ट्रपति बनेका कार्टरले १९७७ देखि १९८१ सम्म पद सम्हालेका थिए ।
राष्ट्रपतिको कार्यकालपछि उनले मानवअधिकार, शान्ति स्थापना र विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका थिए । यी कार्यहरूको कदर स्वरूप उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
नेपालसंगको सम्वन्ध
राष्ट्रपति कार्टरले नेपालमा पाँच पटक भ्रमण गरेका छन् । उनी १९८५ मा पहिलो पटक नेपाल आएका थिए । त्यसबेला उनले ग्रामीण विकास र स्वास्थ्य सेवाका परियोजनाहरूको निरीक्षण गरेका थिए ।
दोस्रो पटक उनी २००७ मा आए । त्यसबेला उनको भ्रमण नेपालको शान्ति प्रक्रिया केन्द्रीत थियो ।
यसैगरी सन् २००८ मा उनले नेपालको संविधानसभाको निर्वाचन पर्यवेक्षण गर्न नेपाल आएका थिए ।
त्यसपछि सन् २०१३ मा उन पुन चौथो पटक नेपाल आए । त्यसबेला स्वास्थ्य तथा ग्रामीण विकासका परियोजनाहरूमा कार्टर सेन्टरको भूमिकालाई सुदृढ गरेको थियो।
पाँचौँ पटक सन् २०१५ मा नेपाल आएका थिए । जसमा उनले भूकम्पपछिको पुनर्निर्माण र राहतकार्यमा पनि चासो दिएका थिए ।
सम्पर्क इमेल : [email protected]