औषधी किन्दा के के कुरामा ध्यान दिने ? हेर्नुहोस् प्रभुराजका पाँच सल्लाह

काठमाडौँ, १४ पुस । उपचारका लागि चिकित्सकलाई भेट्न जाँदा हामी घण्टौँ पर्खनु परे पनि हतार गर्दैनौँ । तर त्यहि चिकित्सकले लेखिदिएको प्रेस्किप्सन लिएर फार्मेसी वा औषधी पसल पुग्दा हामीलाई निकै हतार हुन्छ । त्यो हतारले कहिलेकाँही हामीलाई ठूलो क्षति पुर्‍याउन सक्छ ।

शनिबार यतिकेम डिस्ट्रिब्युटरर्स प्रालिले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले औषधिको विषयमा आम सर्वसाधारणले थाहा पाउनु पर्ने कुराका बारेमा स्पष्टसंग बताए ।

औषधीको विविध पक्षबारे जानकारी दिन आयोजित उक्त कार्यक्रममा कार्यकारी अध्यक्ष वैद्यले आफ्नो व्यावसायिक यात्राका बारेमा त बताए नै त्यसबाहेक औषधी उत्पादक, आयातकर्ता, बितरक र बिक्रेता संगै आम सर्वसाधारणले ध्यान दिनुपर्ने कुराबारे पनि उल्लेख गरे ।

‘औषधी खरीद गर्दा मुख्य चार पाँचवटा  कुरामा ध्यान दिनु पर्छ,’ वैद्यले अगाडी थपे, ‘सकेसम्म आफैले हेर्ने, जानिएन भने कसैलाई हेर्न लगाउने वा सोध्ने गर्नुपर्छ ।

के के कुरामा ध्यान दिने ? यस्तो छ वैद्यको सल्लाह :

१. औषधीको म्याद (एक्सपाएरी डेट) हेर्ने  :

फार्मेसी वा औषधी पसलमा औषधी लिन जाँदा पहिलो हेर्नुपर्ने कुरा औषधी को म्याद (एक्सपाएरी डेट)  हो । कहिलेकाँही औषधि पसले झुक्किएरै पनि वा राम्ररी ध्यान नदिदा म्याद गुज्रिएको औषधी पनि वितरण गर्ने गरेको हामीले सुनेका छौँ । म्याद गुज्रिएको औषधीले काम गर्दैन । यसैले औषधी खरीद गर्दा म्याद कति छ भनेर हेर्ने गर्नुहोस् । त्यो औषधीको खोलमा लेखिएकै हुन्छ ।

२. औषधीको स्टोरेज वा कोल्डचेन बारे थाहा पाउनुहोस् :

खासगरी खोप, इन्सुलिन वा अरु थुप्रै औषधीहरुमा कोल्डचेन मेन्टेन गरेको हुनुपर्छ । कोल्डचेन मेन्टेन भएन भने त्यो औषधीको प्रभावकारिता पनि कम हुँदै जान्छ र प्रभावहिन बन्छ । खासगरी खोप वा औषधि खरीद गर्नुहुन्छ भने कोल्डचेन मेन्टेन भएको छ छैन हेर्नुहोला । सोध्नुहोला । त्यो थाहा पाउने अधिकार तपाईँसंग छ । सधै काम गर्ने औषधीले काम गरेन भन्ने पनि सुनिन्छ त्यो कोल्डचेन मेन्टेन नभएको कारणले पनि हुनसक्छ । त्यसैले औषधी खरीद गर्दा विश्वसनीय औषधी पसलमा जाँदा अझ राम्रो पनि हुन्छ ।

३. मूल्य पनि हेर्नुहोस :

धेरैजसो, लगभग सबै जसो औषधीको एमआरपी मूल्य लेखिएकै हुन्छ । औषधी खरीद गर्दा त्यो मूल्य अनुसार छ कि छैन ? कतिपय औषधी पसलबाट धेरै मुल्य लिएको वा ठगिएको भन्ने पनि सुन्नमा आएको छ । तपाईँले औषधी खरीद गर्दा पत्तामा, बट्टामा वा खोलमा लेखिएको एमआरपी मूल्य हेर्नुहोला ।

४. कसरी कतिवेला कति मात्रा खाने राम्ररी सोध्नुहोला :

कतिपय व्यक्तिहरु फार्मेसी पसलमा औषधी खरीद गर्न जाँदा खरीद गर्ने तर त्यसको प्रयोगबारे राम्ररी नसोधी वा नबुझि हिड्ने गरेको पनि पाइएको छ । कतिपय फार्मेसीवालाहरुले भन्ने पनि गर्छन, भिडभाड भएका बेला कतिपयले नभन्न पनि सक्छन् । औषधी कति मात्रा, कति दिन ? कतिवेला खाने ? त्यो राम्ररी सोध्नुहोला । कतिपय औषधीहरुको सामान्य असर पनि देखिन सक्छ त्यसबारेमा पनि सोध्नुहोला । र सोधेपछि सोही अनुसार आफूले कार्यान्वयन पनि गर्नुहोला । औषधीको सहि मात्रा, खाने सही समय र सही डोज अत्यन्त महत्वपूर्ण कुरा हो ।

५. तपाईँले औषधी लगेर कहाँ राख्नु भएको छ ?

औषधी लिईसकेपछि त्यसको सही प्रयोग गर्नु महत्वपूर्ण हुन्छ । घाम लाग्ने ठाउँमा, पानी पर्ने ठाउँमा राख्न हुँदैन । कोल्डचेन मेन्टेन गर्नु पर्ने औषधीहरुलाई त्यहि किसिमले राख्नु पर्छ । बालबालिकाहरुले नभेटने ठाउँमा राख्नुपर्छ ।

यी कुराहरु हेर्दा सामान्य नै छन् । हामी धेरैलाई थाहा पनि छ तर व्यवहारमा लागू गर्दैनौँ । स – साना कुरामा ध्यान नदिदाँ हाम्रो रोगलाई नियन्त्रण गर्न औषधी प्रभावकारी नहुन सक्छ । आम सर्वसाधारणले यति कुरामा ख्याल गर्नु भयो भने उपचार पनि प्रभावकारी हुन्छ ।

संगसंगै औषधी लेख्ने चिकित्सक तथा प्यारामेडिक्स, औषधी उत्पादक, आयातकर्ता, स्टकिष्ट, फार्मेसी र फार्मासिस्टहरुको पनि दायित्व उत्तिकै महत्वपूर्ण हुने भएकोले त्यसको राम्ररी निर्वाह गर्नु जरुरी हुन्छ ।

हाम्रो देशमा तीन तिरबाट खुल्ला सिमाना छ । कहिलेकाँही नक्कली औषधी फेला परेको घटना पनि हामीले सुनेका छौँ । सस्तो मूल्यको प्रलोभन पनि आउन सक्छ । त्यसैले बुझेर र विश्वसनीय औषधी पसलमा गएर लिनु पर्छ ।

यो पनि हेर्नुहोस्………………………..

बुबाले कोरेको गोरेटो पच्छ्याउदै औषधि व्यवसायमा प्रभावशाली बनेका प्रभुराज

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *