मोहन वैद्यलाई आईसीयूमा सारियो
'वैद्य १५ दिन अघि देखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्'
काठमाडौँ, १४ पुस । विगत १५ दिन देखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणलाई थप समस्या आएपछि आईसीयूमा सारिएको छ ।
अस्पताल स्रोतका अनुसार वैद्यको स्वास्थ्य थप बिग्रिएपछि शनिबार विहान सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूमा सारिएको हो ।
त्यसअघि उनलाई अस्पतालको एनेक्स टू क्याविनमा राखिएको थियो ।
‘अस्ती केही सञ्चारमाध्यमले वैद्य विहीबार कार्यक्रममा सहभागि हुँदा स्वास्थ्य विग्रिएर अस्पताल भर्ना भएको लेखिएको देख्यौँ तर त्यसमा सत्यता थिएन । उहाँ अस्पताल भर्ना भएको आज पन्ध्र दिन भयो । हिजो विहान अलि बढी समस्या भएर आसीयूमा सारिएको हो । अपरान्ह तिर सामान्य सुधार हो कि जस्तो छ,’ आइतबार पारिवारिक स्रोतले भन्यो ।
उपचारमा सम्लग्न एक चिकित्सकका अनुसार उनको छातीमा संक्रमण र दमको समस्या छ । ‘निमोनिया नै त नभनौँ, छातीको संक्रमण हो । दम उहाँको पुरानो समस्या हो,’ ती चिकित्सकले भने, ‘अहिले अवस्था स्थिर छ ।’
नेता वैद्य पहिले देखि नै दमका विरामी हुन् ।
अघिल्ला वर्षहरुमा पनि उनको समस्या बल्झिदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो ।
सम्पर्क इमेल : [email protected]