भक्तपुर क्यान्सर अस्पताल: सरकारले लिनु अघिका स्थायी कर्मचारी अब स्वत: स्थायी
काठमाडौँ, १३ पुस । नेपाल अर्बुद रोग निवारण संस्थाले सञ्चालन गर्दा स्थायी भई काम गरिरहेका भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरु स्वत: स्थायी भएका छन् ।
गत २ असोजको मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार भक्तपुर क्यान्सर अस्पतालको विकास समिति (गठन) आदेश २०७७ को दफा ११ मा संसोधन राजपत्रमा प्रकाशित भएसंगै कर्मचारीहरु स्वत: स्थायी भएका हुन् ।
गत बिहीबार (११ पुस) राजपत्रमा प्रकाशित सूचनामा दफा ११ को उपदफा ७ मा रहेको व्यवस्था संसोधन गरिएको उल्लेख छ ।
संसोधित उपदफा ७ मा ‘संवत २०७७ साल ६ पुस गते भन्दा अघि कायम रहेको भक्तपुर क्यान्सर अस्प्तालमा स्थायी नियुक्ती पाई कार्यरत कर्मचारीहरु समितिको सोही सेवा, तह र पदमा स्वत: कायम रहने छन् र करारका कर्मचारीलाई आवश्यकता र औचित्यको आधारमा समितिले करार सेवामा राख्न सक्नेछ’ भनिएको छ ।
यसअघिको उपदफा ७ मा ‘यो आदेश प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेको भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीहरुलाई समितिको निर्णय बमोजिम करारमा नियुक्त गर्न सकिने छ,’ भन्ने थियो ।
अस्पतालका निर्देशक डा. उज्वल चालिसेले अस्पतालको विकास समिति (गठन) आदेश २०७७ को दफा ११ को उपदफा ७ मा भएको संसोधन र राजपत्रमा सूचना प्रकाशित भएपछि सरकार मातहतमा आउनु अघि अस्पतालमा कार्यरत स्थायी कर्मचारीहरु सोही सेवा, पद र तहमा स्वत: स्थायी भएको भन्दै यसले पुराना कर्मचारीबीच भएको ठूलो संसय हटाएको बताए ।
‘अस्पताल सरकार मातहत आउनु अघि १७० भन्दा बढी कर्मचारीहरु स्थायी रुपमा काम गरेको अवस्था थियो । सरकार मातहत आएपछि करार सेवामा भयो । यसले ठूलो अलमल र गुनासो थियो । सरकारले समाधानको बाटो खोलिदियो । अब आवश्यक पर्ने अरु कर्मचारीहरु करारमा लिन सकिने पनि भयो,’ खुशी हुँदै उनले भने ।
उनले यो कार्यका लागि विशेष पहल कदमी लिएको भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई धन्यवाद समेत दिए ।
भक्तपुर क्यान्सर अस्पताल विसं २०५१ सालमा स्थापना भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तराष्ट्रिय रोटरी क्लव, नेपाल अर्बुद रोग निवारण संस्था सहित विभिन्न संघ संस्थाको सहकार्यमा सामुदायिक अस्पतालको रुपमा सञ्चालित यो अस्पताललाई विसं २०७७ मंसिर २४ गतेको मन्त्रिपरिषद् बैठकले सरकार मातहत ल्याउने निर्णय गरेको थियो ।
कुल १२३ शैय्याको यो अस्पतालमा अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट मेडिकल अंकोलोजीमा पूर्णकालिन डीएम अध्ययन भइरहेको छ । यस्तै रेडियसन अंकोलोजी र गाइने अंकोलोजीमा एमडीका रेजिडेन्ट चिकित्सकहरु क्यान्सर सम्बन्धि विशेषज्ञ तालीम तथा अध्ययना लागि पोष्टिङ हुने गर्दछन् ।
सम्पर्क इमेल : [email protected]