जेष्ठ नागरिकको संख्या बढ्दो, ‘स्वस्थकर बुढ्यौली’ हुनुपर्नेमा सरोकारवालाको जोड
काठमाडौँ, १३ पुस । देशमा जेष्ठनागरिकको संख्या बढ्दो क्रममा छ । विसं २०७८ को राष्ट्रिय जनगणनाले ६० वर्ष माथिको जनसंख्या कुल जनसंख्याको १० प्रतिशत बढी देखाएको छ ।
जेष्ठ नागरिकको संख्या बढी रहेका बेला उनीहरुको स्वास्थ्य र स्याहारलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा शुक्रबार प्रमुख सरोकारवाला पक्षबीच बृहत छलफल कार्यक्रमको आयोजना गरिएको छ ।
रोटरी क्लव अफ डिस्ट्रिक्ट ३२९२ ले स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको सहकार्यमा गरेको स्वस्थकर बुढ्यौली विषयक कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), र जेरियाट्रिक सोसाइटी अफ नेपालले सहकार्य रहेको थियो ।
ठूलो संख्यामा जेष्ठ नागरिकको सहभागिता भएको उक्त कार्यक्रममा स्वास्थ्य सेवा विभागका उच्च अधिकारी, स्थानीय निकायका प्रतिनिधि, रोटरियन, डब्लुएचओका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति थियो ।
कार्यक्रमका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले वृद्धावस्थामा परिवारको सामिप्यता आवश्यक पर्ने भएकोले अन्य सदस्यहरुले उनीहरूको कुरा सुनिदिने बानीको विकास गर्नुपर्ने बताए। उनले सबैले ज्येष्ठ नागरिक बोझ नभई जिम्मेवारी हुन् भन्ने बुझ्नुपर्ने उनले धारणा राखे।
त्यसैगरी ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कंडेलले हाल बुढ्यौलीपनको अवस्थामा मान्छेले बिर्सने खालको रोग (डिमेन्सिया) लगायतका समस्या भोग्नु परेको बताए । उनले नेपाली समाजमा यसलाई ठूलो रुपमा नलिने गरेको अवस्थामा यस्ता कार्यक्रमले सचेतना दिन विश्वास व्यक्त गरे। डा कंडेलले ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको अवस्थामा बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने ज्ञान सबैमा हुनुपर्ने बिचार व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा कुमारी निरौलाले बुढ्यौलीसँग सम्वन्धित ऐन कानुन के कस्ता छन् र नेपालमा बुढ्योलीको तथ्यांक के कस्तो छ भन्ने विषयमा जानकारी दिएकी थिईन ।
विश्व स्वास्थ्य संगठनका कन्ट्री रेप्रिजेन्टिभ डा राजेश सम्भाजीराव पाण्डवले जेष्ठ नागरिकको संख्या बढ्दो क्रममा रहेको भन्दै यसलाई व्यवस्थित गर्न स्वस्थकर बुढ्यौलीको लागि सरकारले विशेष रणनीति अख्तियारी गर्नु पर्ने बताए ।
कार्यक्रममा स्वस्थकर बुढ्यौलीबारेमा समूहगत छलफल समेत भएको थियो । त्यसमा जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष डा उमेश बोगटी, ललितपुर महानगरपालीकाका प्रवक्ता राजु महर्जन, जेरियाट्रिक केयर होमकी संचालक प्रमिला बज्रचार्यले सहभागिता जनाएका थिए ।
त्यसअघि मनोचिकित्सक डा निदेश सापकोटा, रोटरी डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचन, आयुर्वेद तथा वैकल्किक चिकित्सा विभागका डा वंशदिप खरेलले बढ्दो क्रममा रहेको बृद्धबृद्धा र उनीहरुलाई स्वस्थकर बुढ्यौली जीवनका लागि गर्नुपर्ने काम र गरिरहेका कामका बारेमा बताएका थिए ।
कार्यक्रममा वृद्धावस्थामा देखिने स्वास्थ्य चुनौतीहरूको पहिचान, आधुनिक चिकित्सा समाधान, र सामाजिक समर्थन प्रणालीको महत्त्वबारे विचार विमर्श गरिएको थियो।
कार्यक्रमका प्रमुख वक्ताहरूले वृद्धावस्थामा स्वस्थ र सम्मानजनक जीवन जिउनका लागि जनचेतना वृद्धि, नीति निर्माण, र सामुदायिक सहकार्य आवश्यक रहेको औंल्याए।
कार्यक्रममा वृद्ध व्यक्तिका लागि स्वास्थ्य सुविधामा पहुँच, मानसिक स्वास्थ्यको ख्याल, र पोषणयुक्त जीवनशैलीका उपायहरूबारे कार्यपत्र प्रस्तुत गरिएको थियो।
सहभागीहरूले वृद्ध व्यक्तिहरूको जीवनलाई सहज बनाउन विभिन्न संघसंस्था, सरकार र समुदायको भूमिकाबारे छलफल गरेका थिए।
सम्पर्क इमेल : [email protected]