मोटरसाइकल दुर्घटनामा जनस्वास्थ्य निरीक्षक खत्रीको मृत्यु

धनगढी, १२ पुस । धनगढीमा दुइटा मोटरसाइल आपसमा ठोक्किँदा एक जना यात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाजुराको बढीमालिका नगरपालिका-७ बस्ने ३० वर्षीय धर्मराज खत्री हुन्। उनी त्यही वडाको चुथीस्थित स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक थिए।

प्रहरीका अनुसार बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरीनजिकै अतरियाबाट धनगढी आउँदै गरेका दुईवटा मोटरसाइल आपसमा ठोक्किएका थिए।

धनगढी-५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइलमा खत्री पछाडि सवार थिए। यो मोटरसाइकललाई डोटीको शिखर नगरपालिका-११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुप्रप ०१००७११प नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पुरनको पेट र मुखमा चोट लागेको छ। खत्री भने टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा साँझ ६ बजेर ५५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।

घटनापछि मोटरसाइकल चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाँच दिन अगाडि तालिमको सिलसिलामा धनगढीमा गएका खत्री ७ वर्ष अगाडी स्वास्थ्य समूहको तर्फबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *