मिडिया एक्सन नेपालको अध्यक्षमा झा, कार्यकारी निर्देशकमा पन्त
काठमाडौँ, ७ पुस । मिडिया एक्सन नेपालको नवौँ नवौं स्थापना दिवस तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
तेस्रो अधिवेशनबाट चार वर्षका लागि मिडिया एक्सन नेपालको नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले प्रियंका झालाई अध्यक्षको रुपमा सर्वसम्मत निर्वाचित भएकी छिन् ।
उपाध्यक्षमा मिमबहादुर परियार, सचिवमा बाल कृष्ण साह, कोषाध्यक्षमा लक्ष्मी खतिवडा निर्वाचित भएकी छिन्। सदस्यहरुमा गणेश प्रसाद घिमिरे, यमबहादुर दुरा र त्रिगुणा भट्टराई निर्वाचित भएका छन्।
संस्थापक अध्यक्ष लक्ष्मणदत्त पन्तलाई नयाँ कार्यसमितिको पहिलो बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।
स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मनोज दुवाडी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, वर्किङ वुमन जर्नलिस्ट्सकी अध्यक्ष रामकला खड्का, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, र नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले मिडिया एक्सन नेपालले मिडिया विकास र प्रेस स्वतन्त्रताका लागि गरेका प्रभावकारी कामहरुको खुलेरै प्रशंसा गरेका थिए ।
संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले स्वतन्त्र सञ्चारमाध्यमले सामना गरिरहेका बढ्दो चुनौतीहरूको समाधानका लागि तत्काल कदम चाल्न आवश्यक भएको बताए। उनले पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य गर्न ढिलाइ भएमा सञ्चारमाध्यमको निगरानी भूमिका कमजोर हुनसक्ने चेतावनी दिए।
नव निर्वाचित अध्यक्ष प्रियंका झाले मिडिया एक्सन नेपालको भावी योजनाप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै स्वतन्त्र सञ्चारमाध्यमको संरक्षण र जवाफदेहिता प्रवर्द्धन गर्न आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा प्रदेश संयोजकहरु सम्मानित भएका थिए । मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता र सञ्चार विकासका पहलहरूमा उल्लेखनीय योगदान पुर्याएका तीन प्रदेश संयोजकहरूलाई पुरस्कृत गरेको हो । पुरस्कृत संयोजकहरुमा मधेश प्रदेशका हदीस खुद्दार, कोशी प्रदेशका नरेन्द्र ढकाल र कर्णाली प्रदेशका ललितबहादुर बुढा रहेका छन्।
सम्पर्क इमेल : [email protected]