स्वास्थ्यका काम गराई चित्त बुझेन ? सिधै गुनासो गर्नुहोस्………
काठमाडौँ, ७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र त्यस अन्तर्गतका निकायबाट भइरहेका काममा तपाईँ सन्तुष्ठ हुनुहुन्छ ? कि हुनुहुन्न ? हुनु हुन्न भने तपाईँका गुनासो के छन् ? छन् भने आजै गुनासो गर्नुहोस् ।
यस्तै गुनासो सुन्न र समाधानका पहल गर्न भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका डाक्टर अनुप बास्तोलाको संयोजकत्वमा गुनासो ईकाई गठन गरेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अग्रसरतामा गठित सो इकाईमा सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी र शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन् । इकाईको सदस्य सचिव डा भक्त केसी रहेका छन् ।
सो ईकाईले गुनासो टिपाउन पैसा नलाग्ने हटलाइन नम्बर १११५, भाइवर तथा ह्वाट्स एप नम्बर ९८५१३३०५९२, इमेल सहित मन्त्रालयले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक र एक्स समेत सार्वजनिक गरेको छ ।
इकाई संयोजक डा. बास्तोलाले स्वास्थ्य सम्वन्धी सेवाहरुलाई आम जनमानसमा सहज ढंगले पुर्याउँने मुख्य उदेश्यका यो कार्यक्रम ल्याइएको बताए । उनले ईकाईमा गुनासोहरु गर्नेहरु बढी रहेको बताए ।
गुनासो सुन्ने इकाईको अधिकार क्षेत्र के के छ ?
डा बास्तोलाको संयोजकत्वमा गठित समितिलाई मन्त्री पौडेलले पाँच बुँदे कार्यादेश दिएका छन् । त्यसमा मन्त्रालयबाट प्रवाह हुने सेवाका सम्वन्धमा सेवाग्राहीबाट प्राप्त गुनासो संकलन गर्ने, प्राप्त गुनासो सम्वोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेश गर्ने रहेका छन् । यस्तै मातहतका विभाग, केन्द, प्रयोगशाला, अस्पताल समेतबाट प्रवाह हुने सेवा सम्वन्धमा सेवाग्राहीले सोही निकायमा गरेका गुनासो तत् तत् निकायबाट सुनुवाई भए नभएको अनुगमन गर्ने लगायतका छन् ।
चौथो नम्बरमा मातहतका विभाग, केन्द्र, प्रयोगशाला, अस्पताल समेतबाट हुने सेवा प्रवाहका सम्वन्धमा मन्त्रालयमा गुनासो आएमा प्राप्त भएका गुनासोको उचित सम्वोधनका लागि सम्वन्धित निकायमा लेखि पठाउने र सो बमोजिम गुनासोको उचित सम्वोधन भए नभएको सम्वन्धमा नियमित अनुगमन गर्ने लगायतका छन् ।
कार्यादेशको पाँचौँ नम्बर बुँदामा सेवाग्राहीले गुनासो गर्ने सरल र सुलभ माध्यमका सम्वन्धमा सम्वन्धित सबैले जानकारी प्राप्त गरी सूचना प्रकाशन गर्ने रहेका छन् ।
ईकाईका सदस्य सचिव डा. भक्त केसीले गुनासो गर्न चाहने सेवाग्राहीले तोकिएको हटलाइन नम्बर १११५ मा विहान ८ बजे देखि बेलुका ८ बजेसम्म निशुल्क रुपमा फोन गरेर टिपाउन सक्ने बताए ।
यस्तै ह्वाट्स एप तथा भाइवर प्रयोगकर्ताले ९८५१३३०५९२ नम्बरबाट पठाउन सक्ने बताए । ‘यो माथिको नम्बर फोन गर्ने होईन, ह्वाट्स एप र भाइवरका लागि मात्रै हो । अरु माध्यमहरु इमेल, फेसबुक तथा एक्सबाट पनि सजिलै गुनासोहरु राख्न सकिन्छ,’ उनले भने ।
उनले इकाई गठन भएपछि गुनासोहरु आउने क्रम बढ्न थालेको भन्दै त्यसको सम्वोधन गरेर सम्वन्धित पक्षलाई जानकारी गराउने काम पनि भईरहेको दावी गरे ।
सम्पर्क इमेल : [email protected]