वीर अस्पतालको सर्भर डाउन, नियमित काममा कठिनाई
काठमाडौँ, ७ पुस । वीर अस्पतालको सर्भर डाउन हुँदा त्यहाँबाट हुँदै आएको सेवामा अवरोध पैदा भएको छ । सर्भर नचल्दा ओपिडी टिकट, भर्ना, डिस्चार्ज, प्रयोशाला परीक्षण तथा अन्य जाँच संगै स्वास्थ्य बीमा लगायतका सेवाहरुमा अवरोध पैदा भएको हो ।
‘सर्भरमा शुक्रबार बेलुकाबाट समस्या आएको हो । त्यसपछि प्राविधिकहरुले बनाएर शनिबार केहीवेर चल्यो पनि फेरी दिउसोबाट उस्तै समस्या देखियो । अहिले पनि त्यसको समाधानका लागि प्राविधिक टोली खटिएको छ,’ अस्पतालका निर्देशक डा सन्तोष पौडेलले भने ।
उनले ओपिडीमा आएकाहरुका लागि छाप टिकटका लागि छाप लगाएर सेवा उपलव्ध गराएको बताए । तर अन्य परीक्षण केही समस्या देखिएको बताए ।
‘भर्ना, डिस्चार्ज, प्रयोगशाला, स्वास्थ्य बीमा लगायत सबै सिस्टम अनलाइनबाट चल्ने हुन् । यो नचल्दा समस्या त हुने नै भयो । हाम्रा प्राविधिकहरु लागि रहनु भएको छ । आशा गरौँ छिटै बन्नेछ र नियमित रुपमा सेवा फर्किने छ,’ उनले भने ।
देशकै सबैभन्दा पुरानो र सबैभन्दा ठूलो सरकारी अस्पताल वीरमा बिरामीको चाप पनि अधिक हुने गर्दछ । तर सिस्टममा आउने यस्ता समस्याले सेवाग्राहीलाई थप समस्या हुने गरेको छ ।
सम्पर्क इमेल : [email protected]