फार्मेसीमा बस्ने फार्मासिस्ट तथा फार्मेसी सहायकका लागि आज देखि ड्रेस कोड अनिवार्य, ड्रेस कोड कस्तो ?

काठमाडौँ, ४ पुस । नेपाल फार्मेसी परिषद्ले आज देखि औषधि पसल (फार्मेसी)मा बस्ने फार्मासिस्ट तथा फार्मेसी सहायकले तोकिएको ड्रेस कोडको अनिवार्य रुपमा पालना गर्नु पर्ने बताएको छ । परिषद्ले एक महिना अघि (४ मंसिर)मा यस सम्वन्धि निर्णय गर्दै त्यसको कार्यान्वयन एक महिना पछि (४ पुस २०८१ देखि) हुने बताएको थियो ।

परिषद्का अनुसार ड्रेस कोडमा अब फार्मेसीको औषधि डिस्पेन्सिङमा बस्ने फर्मासिस्टले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो खल्ती माथि हरियो पृष्ठभूमिमा सेतो रंङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्लेख भएको नेम ट्याग राख्नु पर्नेछ ।

यस्तै फार्मेसी सहायकले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो भागमा रहेको खल्ती माथि निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम पद र परिषद् दर्ता नम्बर उल्लेख गर्नुपर्नेछ ।

परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले ड्रेसकोड सम्वन्धि निर्णय एक महिना अघि नै भएको भन्दै अब आजबाट यसको पालना गरिएको हुनुपर्ने बताए । ‘अब आजबाट कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले तोकिएको ड्रेस लगाउनु पर्नेछ । ड्रेस विना औषधि पसलमा बसेर काम गरेको पाइए कानून अनुसार कार्वाही गरिनेछ,’ परिषद्का रजिष्ट्रार पाण्डेले भने ।

उनले औषधि पसलहरुमा फर्मासिस्ट र फार्मेसी सहायकहरुकै उपस्थिति होउन भनेर यस्तो व्यवस्था गर्न लागिएको समेत स्पष्ट पारे ।

त्यसो त परिषद्को यो निर्णयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत समर्थन गर्दै सबै सरकारी अस्पतालहरुलाई निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको छ ।

रजिष्ट्रार पाण्डेले भने, ‘यसले औषधि पसलमा फर्मासिस्ट छन् कि छैन रु को फर्मासिस्टले औषधि दियो रु औषधि फर्मासिस्टले दियो कि फार्मेसी सहायकले भनेर समेत थाहा पाउन सजिलो हुन्छ । यसले औषधि पसलमा गैर फर्मासिस्टहरु कार्यारत हुने अवस्थालाई पनि नियन्त्रण गर्न सजिलो हुन्छ ।’

परिषद्ले ड्रेसकोड कार्यान्वयनका लागि एक महिनाको समयसिमा तोकिएको भन्दै यसको कार्यान्वयन भएको नदेखिए परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३।२ बमोजिम कार्वाही प्रक्रिया अगाडी बढाउने बताएको छ ।

परिषद्को टोली निर्देशन कार्यान्वयन भए नभएको निरीक्षणका लागि अनुगमनमा निस्कने तयारी गरेको छ ।

अहिले कतिपय फार्मेसी पसलले फर्मासिस्ट तथा फार्मेसी सहायकको प्रमाणपत्र भाडामा लिएर सञ्चालन गर्ने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *