मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु

काठमाडौँ, ३ पुस । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबीबीएस) को अध्यापन सुरु भएको छ ।

चिकित्सा शिक्षा आयोगले यस वर्ष एमबीबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति दिएपछि प्रतिष्ठानले अध्यापन सुरु गरेको हो ।

प्रतिष्ठानले प्राप्त गरेको ५० मध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीको पूर्ण छात्रवृत्ति र २५ प्रतिशत सिटमा तोकिएको रकमको आधारमा नामाङ्कन गराइने प्रतिष्ठानका उपकुलपति प्राडा अंकुर साहले जानकारी दिए ।

पूर्ण छात्रवृत्तिअन्तर्गत ३८ जनाको नामाङ्कन गरिएको छ । विदेशी विद्यार्थीको हकमा ४५ लाख भारतीय रकम लिने निर्णय भएको उनले बताए ।

पूर्णछात्रवृत्ति नभएका विद्यार्थीको पनि नामाङ्कन सुरु गरिएको उपकुलपति डा. साहले बताए । अहिलेसम्म एकजना भारतीय विद्यार्थीको एमबीबीएसमा नामाङ्कन गरिएको छ । यही पुस २४ गतेसम्म नामाङ्कनको समयावधि तोकिएको छ । छात्रवृत्ति नपाएका विद्यार्थीसँग प्रतिष्ठानले रु ४५ लाख शुल्क तोकेको जनाउँदै उनले उक्त रकम तीन पटकमा बुझाउनुपर्ने उल्लेख गरे ।

एमबीबीएसको अध्ययन जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पछाडि रहेको एकेडेमी कलेजमा सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । यसअघि उक्त भवनमा नर्सिङका छात्राहरू अध्ययन गर्दै आएका थिए ।

एमबीबीएस अध्यापनका लागि शिक्षकको छनोट र नियुक्ति पहिला नै भइसकेको बताउँदै उपकुलपति डा. साहले छनोट भएका शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण दिने कार्य पनि भइसकेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *