डा. भोला रिजाललाई ॐ हस्पिटलको ‘संस्थापक तथा संरक्षक’ विशेष सम्मान
काठमाडौँ, ३ पुस । नेपालका अग्रणी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाललाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सम्मन गरेको छ।
अस्पतालको २८औँ वार्षिक साधारण सभाको अवसरमा उनलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको ‘संस्थापक तथा संरक्षक’को रुपमा विशेष सम्मान गरेको हो ।
मंगलबार धुम्बाराहीस्थित होटल रामादा अकामामा आयोजित विशेष समारोहमा अस्पतालका सञ्चालकहरु, सेयरधनीहरु तथा उच्च व्यवस्थापनका माझ डा. रिजाललाई ॐ हस्पिटलका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले माला तथा दोसल्ला पहिर्याएर कदरपत्र हस्तान्तरण गरी सम्मान गरेका हुन्।
अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीले सम्मानपत्र वाचन गरेका थिए भने अस्पतालका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतले माला तथा खादा पहिर्याएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
सम्मान ग्रहण गरिसकेपछि सभालाई सम्बोधन गर्दै डा. रिजालले ॐ अस्पताल सञ्चालक समिति, सेययरधनीहरु र अस्पताल व्यवस्थापनलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए।
अस्पतालको परिकल्पना, सुरुवाती दिनका संघर्ष र यादहरु स्मरण गर्दै उनले आजको ॐ हस्पिटल देशले गर्व गर्न लायकको निजी क्षेत्रको स्वास्थ्य सेवा प्रदायक बनाउन अहोरात्र लागि परेका सबैलाई धन्यवाद दिएका थिए।
ॐ हस्पिटल आफूले जन्माएको सन्तान सरह लाग्ने भएकाले आफूलाई अत्यन्त प्यारो लाग्ने भन्दै डा. रिजालले यसको हितमा सधैँ साथ रहेको र भविष्यमा पनि रहिरहने उल्लेख गरे।
ॐ हस्पिटल सञ्चालक समितिका अध्यक्ष डा. श्रेष्ठले नेपाली कला, साहित्य, संगीत, चलचित्र, समाज सेवा र सनातन धर्मको सेवामा प्रेरणादायी रुपमा सक्रिय डा. रिजाललाई सम्मान गर्न पाएर आफू र ॐ अस्पताल परिवार पनि सम्मानित भएको अनुभूति गरिरहेको भन्दे सदैव डा रिजालको आदर्शलाई निरन्तरता दिने प्रण गरे।
विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलनसँगै नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रबाट डा. रिजालको कुशल नेतत्वमा स्थापना भएको तत्कालीन ॐ नर्सिङ होम पछि २०५२ सालदेखि ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा रुपान्तरित भई विगत ३५ वर्षदेखि गुणस्तरीय, आधुनिक र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
उनले नेपालमा आधुनिक चिकित्सा क्षेत्रको स्तरवृद्धि गर्ने एवं नयाँ पुस्ताका चिकित्सकहरुलाई प्रेरणा तथा मार्गदर्शन दिनुका साथै हजारौं महिलाको जीवनरक्षा गरेका छन् भने नेपालमा नै पहिलो पटक ॐ अस्पतालमा आईभीएफ सेन्टरको स्थापना गरी हजारौं निःसन्तान दम्पतीहरुलाई वात्सल्य सुख प्रदान गरेका छन्।
साथै, ॐ हेल्थ फाउन्डेसनमार्फत नेपालका दुर्गम तथा अति विकट क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याएर अस्पतालको सामाजिक उत्तरदायित्वको आदर्शसमेत स्थापित गरेका छन्।
सम्पर्क इमेल : [email protected]