कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ्ग हस्पिटल १८ औँ वर्षमा प्रवेश
काठमाडौँ, १ पुस । दाँत उपचार र दन्त चिकित्सा शिक्षाको क्षेत्रको अग्रणी संस्था कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ्ग हस्पिटल (केडीसी) १८ औं वर्षमा प्रवेश गरेको छ । सन् २००७ डिसेम्बर १६ का दिन स्थापना भएको केडीसी काठमाण्डौं विश्वविद्यालयद्धारा सम्वन्धन प्राप्त र नेपाल मेडिकल काउन्सिल तथा चिकित्सा शिक्षा आयोगको स्वीकृतिमा संचालित रहेको छ ।
केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार स्थापनाकालदेखि हालसम्म यस शिक्षण अस्पतालले एक लाख पचास हजार भन्दा बढी दन्त स्वास्थ्यका बिरामीहरुलाई सेवा दिएको छ ।
यस्तै ब्याचलर ईन डेन्टल सर्जरी बीडीएस तर्पm ४०० जना र मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तर्फ ४४ जना विशेषज्ञहरु उत्पादन गरेको छ ।
उता प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदको सम्वन्धनमा सन् २०१२ देखि संचालित डिप्लोमा ईन फार्मेसी तर्फ ३७४ जना तथा सन् २०१३ देखि संचालि सर्टिफिकेट इन डेन्टल साइन्स तर्फ ३०१ जना प्रबिधिकहरु उत्पादन भईसकेका छन् ।
यस्तै कलेजले आफ्नो शैक्षिक कार्यक्रम तर्फ गत शैक्षिक बर्ष देखि चार वर्षे बीएस्सी इन ल्यावोरोटरी मेडिसिन (बीएस्सी–ल्याबमेड) पनि सुरु गरेको छ ।
केडीसीका हस्पिटल डाइरेक्टर डा प्रतिक्षा श्रेष्ठले पछिल्लो एक वर्षमा ६७ हजार ५०० जना दाँतका बिरामीहरुलाई उपचार सेवा प्रदान गरिएको बताईन् ।
विसं २०७० साल अश्विन महिना देखि १०० शैयाको जनरल हस्पिटल समेत सञ्चालनमा ल्याएको केडीसीले आफ्नो सेन्टर भित्र केडीसी ओरल एण्ड म्याग्जिलोफेसियल ट्रमा सेन्टर, ओरल हेल्थ सेन्टर फर स्पेशल निड्स तथा डेन्टल इम्प्लान्ट सेन्टर समेत सञ्चालनमा ल्याएको छ ।
अहिले सोही परिसरमा आँखा उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ । यसैवर्षदेखि बीएम फाउण्डेशन र ताइवान ब्लाइन्डनेस फाउण्डेशनको सहकार्यमा केडिसी आई सेन्टर तथा प्रसाधन सेवा तर्फ केडीसी एस्थेटिक सेन्टरको सेवा सुरु गरेको जनाएको छ ।
अध्यक्ष डा. श्रेष्ठले जनताको मुख स्वास्थ्यमा सुधार ल्याउनको लागि आफूहरुले देशका ६७ जिल्लाहरुमा पुगी मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जनचेतना तथा निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर, विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयं सेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोष्ट प्रमुखहरुलाई मुख तथा दन्त स्वास्थ्य अभिमुखिकरण तालिम समेत सञ्चालन गर्दै आएको बताए ।
नेपालमा दन्त स्वास्थ्यको अवस्था कस्तो छ ?
मुख तथा दन्त स्वास्थ्यको समस्या आज प्रत्येक नेपालीहरुमा विद्यमान छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदनअनुसार संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको छ । साथै यो समस्याको उपचार विश्वमा चौथो महङ्गो उपचारको रुपमा समेत रहेको छ ।
हस्पिटल डाइरेक्टर डा. प्रतिक्षा भन्छिन्, ‘हाम्रो देशमा ४५ वर्ष भन्दा पनि कम उमेरमा नै पाइरियाको कारणले गर्दा दाँतझर्ने जस्ता समस्या देखिएको छ । यसका साथै दाँतमा किरा लाग्ने, गिजाको रोग तथा मुखको क्यान्सर जस्ता समस्याहरुबाट पनि पिडित छन् ।’
उनले मुख तथा दन्त स्वास्थ्य राम्रो नभएमा त्यस्ता व्यक्तिहरुलाई मुटुको रोग हृदयघात, मधुमेह जस्ता रोग लाग्नुका साथै गर्भवती महिलाले मुख तथा दन्त स्वास्थ्यलाई ध्यान नदिए कम तौलको बच्चा जन्मिने तथा समय भन्दा अगावै बच्चा जन्माउने समेतको समस्या देखा पर्ने उनले बताईन् । त्यसैले गर्भवती महिलाले गर्भ जाँच गराउँदा नै अनिवार्य रुपमा मुख तथा दन्त स्वास्थ्यको पनि जाँच गराउन उनले आग्रह गरिन ।
उपचारमा पहुँच कस्तो ?
केडीसीका अध्यक्ष डा. श्रेष्ठ भन्छन् नेपालमा अझै पनि करिव ८० प्रतिशत मानिसहरुले दन्त उपचार सेवा पाउन सकेका छैनन् । अधिकांश ग्रामिण भेगका जनताहरु उपचार नपाउनाले दाँत किराले खाने, गिजाको रोग (दन्तहर्षा तथा पाइरिया), बाँङ्गो टिङ्गो दाँत भएको, मुखमा घाउ खटिरा आउने, समय नपुग्दै दाँत झर्ने, मुखको क्यान्सर, ट्यूमर, सिस्ट तथा अन्य समस्याहरुबाट पिडित छन् ।
दन्त स्वास्थ्य उपचारमा पहुँच नरहेको र निम्न आयश्रोत भएका ग्रामिण भेगका जनताहरुलाई निकै खर्चिलो मानिने यस उपचारलाई ‘प्रिभेन्सन इज बेटर देन क्युर’ को अवधारणा अन्तर्गत ग्रामिण भेगमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्नु आवश्यक छ ।
दन्त स्वास्थ्यको जनशक्ति कस्तो ?
हाल नेपालमा ४ हजार ८ सय ८३ जना दन्त चिकित्सकहरु तथा ७ सय ५६ जना दन्त बिशेषज्ञ नेपाल मेडिकल काउन्सिलमा दर्ता भएपनि करिव ६० प्रतिशत मात्र नेपालमा कार्यरत रहेका छन् । त्यस्तै करीव दुई हजार डेन्टल हाइजेनिष्टहरु रहेका छन् । यसले करिव ३ करोड नेपालीहरुलाई सेवा पुर्याउन गाह्रो भएको डा श्रेष्ठ बताउँछन् ।
सम्पर्क इमेल : [email protected]