लोकसेवाको सहमति पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी पदपूर्तिका बाटो खुल्यो

काठमाडौँ, २६ मंसिर ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका प्राविधिक तथा अप्राविधिक पदहरुमा स्थायी पदपूर्ति, स्तरबृद्धि तथा बढुवाका लागि बाटो खुलेको छ ।

प्रतिष्ठानको माग बमोजिम लोक सेवा आयोगले मंगलबार पदपूर्तिका लागि सहमति प्रदान गरेसंगै विगत ६ वर्ष अघि देखि अबरुद्ध स्थायी पदपूर्ति, स्तरबृद्धि तथा बढुवाको बाटो खुलेको हो ।

यो संगै प्रतिष्ठानले विभिन्न पद तथा समूह, उप समूहमा १७२ वढी पदमा स्थायी पदपूर्ति गर्ने छ ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले लोक सेवाबाट सहमति भएसंगै विगत ६-७ वर्ष देखि रोकिएका पदपूर्ति, स्तरबृद्धि तथा बढुवाको काम अघि बढ्ने बताए ।

‘पहिले सेवा आयोगबाट यी सबै काम हुन्थे । तर नयाँ संविधानले स्थायी पदपूर्तिका काम लोक सेवा आयोगको सहमतिमा मात्रै गर्नु पर्ने भन्ने व्यवस्था भयो । त्यसपछि नियमित रुपमा चल्दै आएको पदपूर्ति सम्वन्धि कार्यमा अवरोध उत्पन्न भएको थियो । तर लामो प्रयास पछि लोकसेवा आयोगले सहमति प्रदान गरेको छ । वर्षौ देखि रोकिएको काम अब अघि बढ्ने भएको छ,’ डा. रावलले खुशी हुँदै भने ।

यता लामो समय देखि आफूहरुको स्तरबृद्धि तथा बढुवा रोकिएको भन्दै प्रतिष्ठानमा कार्यरत केही कर्मचारीहरुले मंसिरको पहिलो साता देखि प्रतिष्ठानमा तालाबन्दी गरेका थिए । अब आयोगको सहमति पछि आन्दोलनकारी पक्ष पनि सहमतिमा आउने अपेक्षा गरिएको छ ।

उपकुलपति डा रावलले अब शुक्रबार सूचना प्रकाशित गरी स्तरबृद्धि बढुवा तथा स्थायी पदपूर्तिको काम सुरु हुने बताए । उनले तीन साता पछिबाट नतिजा समेत आउन थाल्ने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *