काठमाडौँमा ‘द हिमालयन अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन-२०२४’ आयोजना हुँदै
काठमाडौँ, २५ मंसिर । अघिल्ला वर्षहरुमा अङ्ग प्रत्यारोपणमा सक्रिय नेपालका चिकित्सकहरुले खोलेका दुईवटा छुट्टा छुट्टै संस्थाहरुले छुट्टा छुट्टै सम्मेलन गर्दै आएका थिए । तर, यसपटक ती दुई संस्थाहरु एक भएका छन् र गर्न लागेका छन् एउटा बृहत अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन् ।
‘द हिमालयन अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन – २०२४’ नाम दिइएको सो सम्मेलन आगामी शनिबार र आइतबार काठमाडौँको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा हुने भएको छ ।
सो सम्मेलनको मुख्य नारा ‘विकासोन्मुख राष्ट्रहरुमा अङ्ग दानलाई प्रवर्दन गर्नु’ रहेको छ ।
सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा ‘सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेशन नेपाल (एसओटीएन)’ का अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठले नेपालको अङ्ग प्रत्यारोपणमा सक्रिय समुदाय यसपटक एक ढिक्का भएर अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको बताए ।
उनले यो सम्मेलनले नेपालको प्रत्यारोपण क्षेत्रलाई थप सुदृढ गराउन महत्वपूर्ण सहयोग पुग्नुै भन्दै मस्तिष्क मृत्युपछिको अङ्ग दानको अभियान र प्रत्यारोपणलाई थप प्रभावकारी ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे ।
‘यस सम्मेलनको उदेश्य प्रत्यारोपण क्षेत्रका ख्यातिप्राप्त चिकित्सकलाई एउटै छानामुनि ल्याई प्रत्यारोपणको सीप र ज्ञानको आदान प्रदान गरी नेपालमा अंग प्रत्यारोपणलाई सफल बनाउन मद्धत गर्नु हो,’ डा. श्रेष्ठले भने ।
कार्यक्रममा सम्मेलनका साइन्टिफिक कमीटीका अध्यक्ष डा. ऋषिकुमार काफ्लेले नेपालको प्रत्यारोपण क्षेत्रमा क्रियाशिल सबै विज्ञ चिकित्सकहरु एकजुट भएर पहिलो पटक अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्दा समग्र पेशागत क्षेत्र, उपचार पद्धती र अन्तराष्ट्रिय समुदायमा सकारात्मक प्रभाव आउने भन्दै खुशी व्यक्त गरे ।
‘प्रत्यारोपण सम्वन्धी सम्मेलन अघिल्ला वर्षहरुमा पनि हुने गर्दथे, तर फरक फरक व्यानरमा । यसपटक खुशीको कुरा नेपालका प्रत्यारोपणमा सम्लग्न सबे विज्ञ चिकित्सक एक भएका छन् । छुट्टा छुट्टै संस्थाहरुबीच पनि एकीकरण भएको छ । यसले समग्र चिकित्सा क्षेत्रका लागि सुदृढ गर्न मद्धत पुग्छ,’ उनले भने ।
डा. काफ्लेले विकासोन्मुख राष्ट्रहरुमा अङ्ग दानलाई प्रवर्दन गर्नु भन्ने मुख्य ‘थिम’मा सम्मेलन आयोजना हुन लागेको भन्दै यसले नेपालको अङ्ग दान तथा प्रत्यारोपणको क्षेत्रमा ठूलो सहयोग हुने बताए ।
सम्मेलन आयोजक समितिका सचिव डा. कल्पनाकुमारी श्रेष्ठले दुई दिने सम्मेलनमा २६ वटा कार्यपत्र प्रस्तुत हुने र त्यसमा १९ वटा विदेशी विज्ञहरुको रहने बताईन् ।
उनले सम्मेलनमा नेपाल सहित भारत, बेलायत, अमेरिका, नेदरल्याण्ड, जापान लगायतका देशबाट विज्ञ चिकित्सकहरुको सहभागिता हुने बताईन् । कार्यक्रममा विज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी सहित ३०० बढीको सहभागिता हुने जानकारी दिईन् ।
यो पनि हेर्नुहोस् …..
अङ्ग प्रत्यारोपणको क्षेत्रमा क्रियाशिल नेपाली चिकित्सकहरुको दुईवटा संस्था एक हुँदै
सम्पर्क इमेल : [email protected]