बजारमा वितरण हुन थाल्यो चेतावनीमुलक चित्र र अन्तशुल्क स्टिकर विनाका चुरोटका साना प्याकेट
काठमाडौँ, २५ मंसिर । कानून त नेपालमा बिक्री बितरण हुने कुनै पनि चुरोटको प्याकेट २० खिल्लीको हुनुपर्छ, प्याकेटको ९० प्रतिशत भाग सरकारले तोकेको रंगिन चित्र सहितको चेतावनीमुलक स्वास्थ्य सन्देशले छोपिनु पर्छ । अनि सो सन्देश नछोपिने गरी अन्तशुल्क स्टिकर पनि लगाउनु पर्छ ।
तर, अहिले नेपाली बजारमा एउटा चुरोट कम्पनीले आफ्नो २० खिल्लीको प्याकेट किन्दा ५ खिल्लीको प्याकेट सित्तैमा उपहार दिन्छ । त्यो ५ खिल्लीको प्याकेटमा कुनै पनि चेतावनीमुलक चित्र राखिएको पनि छैन, न त अन्तशुल्क स्टिकर ।
यस्तो बदमासी कसले गर्ला ? उही त हो सुर्ती नियन्त्रण सम्वन्धि कानूनको उल्लंघन गर्न माहिर कम्पनी सूर्य नेपाल प्रालि ।
सरकारका उच्च अधिकारीसंग साठगाठ गरेर सधै कानून अटेरी गर्दै आएको सूर्य नेपालले पछिल्लो पटक नयाँ बजारीकरण नीति लागू गर्दै एक बट्टा चुरोट किन्दा चित्र विनाको ५ खिल्लीको अर्को बट्टा दिने गरेको पाइएको छ ।
अहिले बजारमा सूर्य फ्युजन नामको चुरोटको २० खिल्लीको बट्टा किन्न गयो भने पसलेले एउटा सानो ५ खिल्लीको बट्टा सित्तैमा उपहार दिन्छ । जो सरासर कानून विपरित हो ।
यो पाँच खिल्लीको ‘फ्री फ्लो’ नाम भएको रंगिन बट्टामा न त सुर्तीजन्य पदार्थ ऐन, २०६८ अनुसार कुनै सन्देश छ, न यसमा अन्तःशुल्क कार्यालयको कुनै स्टिकर नै छ ।
यसले युवा पुस्तालाई चुरोटको लतमा फसाउन र राज्यलाई तिर्नुपर्ने छल्नका लागि उद्धत भएको देखिएको छ । किनभने चित्र नै नभएको सानो प्याकेट ठूलो प्याकेटको तुलनामा लिएर हिड्न समेत सहज हुने धेरैमा लत बसाउने र अन्त शुल्क स्टिकर नै नराखेपछि राज्यलाई तिर्नुपर्ने कर समेत तिर्न नपर्ने भएपछि कम्पनी बदमासी गर्न उद्धत भएको हो ।
जानकार भन्छन्, ‘सरकारले चुरोटबाट अन्तःशुल्क, स्वास्थ्य कर, मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर गरी विभिन्न शीर्षकमा राजस्व संकलन गर्छ ।’ तर, सूर्य नेपालले यी चारवटै शीर्षकमा सरकारले पाउने कर छल्न खोजेको छ । किनभने यो कम्पनीले गैरकानुनी रूपमा बजारमा चुरोट बिक्री वितरण गरेको छ ।
चुरोट तथा सुर्तीजन्य उत्पादन गर्ने उद्योगले अन्तःशुल्क स्टिकरबापत प्रतिस्टिकर २५ पैसा, स्वास्थ्य जोखिम करबापत प्रतिखिल्ली ६० पैसा, आयकरबापत ३० प्रतिशत र भ्याटबापत १३ प्रतिशत राज्यलाई तिर्नुपर्छ ।
यसैबीच कम्पनीले ऐन विपरीत ‘सूर्य फ्युजन’ चुरोट ‘फ्रि फ्लो’ लेखिएको ‘एक्ट्रा’ बट्टामा पसल–पसलमा वितरण गरेपछि करछलीको अशंकामा राजस्व कार्यालयबाट खटिएका कर अधिकृतले सूर्य नेपालको सिमरा र दमौलीमा भएको कारखाना तथा गोदाममा छापा हानेका छन् ।
आन्तरिक राजश्व विभागको निर्देशन अनुसार कर अधिकृतहरुले उद्योग भएका दुई स्थान सिमरा र दमैली पुगेर अनुसन्धान गरेको हो ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष ३९ हजार बढीको मृत्यु हुने गरेको छ । त्यसबाट हुने बिरामीको उपचारका लागि अर्वौ खर्च हुने गरेको छ । त्यसलाई न्युनिकरण गर्न सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ल्याएको हो । तर अहिलेसम्म यसको राम्ररी कार्यान्वयन गर्न सकेको छैन ।
सम्पर्क इमेल : [email protected]