आधारभूत अस्पतालको प्रमुख जनस्वास्थ्यको अधिकृत हुनुपर्ने पक्षमा छु : स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्यको छुट्टै ऐन आवश्यक छ र त्यो बन्नेछ : स्वास्थ्य सचिव डा पोखरेल
काठमाडौँ, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आधारभूत अस्पतालको प्रमुख जनस्वास्थ्यको अधिकृत हुनुपर्ने पक्षमा आफू रहेको बताएका छन् । नेपाल जनस्वास्थ्य संघ (नेफा)को आयोजनामा आज राजधानीमा आयोजित प्रथम राष्ट्रिय जनस्वास्थ्य दिवसको उद्घाटन गर्न पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले भने, ‘उपचारात्मक सेवा त ठिकै नै छ । तर बिरामीको संख्या बढेको बढ्यैं छ । यहि हिसावले बढ्दै गए राज्यले उपचारमा खर्च गर्न पनि सक्दैन । अब रोग लाग्न नदिनका लागि काम गर्नुपर्ने छ । त्यसैले म त ७५३ वटै स्थानीय तहमा आधारभूत अस्पताल चाहिने हो भने त्यो अस्पतालको प्रमुख जनस्वास्थ्य अधिकृत हुनुपर्छ भन्ने पक्षमा छु ।’
उनले यसो भन्दा हलमा भरिएका जनस्वास्थ्यकर्मीहरुले ताली बजाएर समर्थन गरेका थिए ।
तर, उनको भनाई भेला भएका जनस्वास्थ्यकर्मीहरुलाई खुशी बनाउनु जस्तो मात्रै देखिन्छ ।
भेलामा सहभागी धेरै जनस्वास्थ्यकर्मीले मन्त्रीको कुरालाई ‘खुशी बनाउन दिएको’ अभिव्यक्ति वा ‘बोल्दा बोल्दै चिप्लिएको’ रुपमा हेरेका छन् ।
‘यो सम्भव हुने कुरा होइन, अस्पतालले उपचारात्मक सेवा दिने हो । त्यसको नेतृत्व चिकित्सकले नै गर्नुपर्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले प्रतिक्रिया दिए ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पनि यो कुरामा खासै सल्लाह नभएको र मन्त्री ज्यूलाई त्यस्तो लागेको हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
स्वास्थ्यको छुट्टै ऐन आवश्यक छ र त्यो बन्नेछ : स्वास्थ्य सचिव डा. पोखरेल
कार्यक्रमलाई सम्वोधन गर्न पुगेका स्वास्थ्य सचिव डा. रोशन पोखरेलले स्वास्थ्य ऐन छुट्टै बन्ने बताएका छन् । ‘स्वास्थ्य ऐन छुट्टै चाहिन्छ भन्ने पक्षमा मन्त्रालय छ । त्यसमा हामी लागि रहेका छौँ । स्वास्थ्य ऐन छुट्टै बन्छ बन्छ । छुट्टै ऐन बन्दै गर्दा जनस्वास्थ्यकर्मी, चिकित्सक वा अन्य स्वास्थ्यकर्मीहरुलाई कहा निर कसरी म्यानेज गर्ने भन्ने विषय आउने छ,’ उनले भने ।
सचिव डा पोखरेलले ‘क्युरेटिभ’ र ‘प्रिभेन्टिभ’ दायित्व बोकेका स्वास्थ्यकर्मीहरु आपसमा वादविवाद गर्नु भन्दा एकजुट भएर स्वास्थ्य क्षेत्र सम्हाल्नु राम्रो हुने धारणा व्यक्त गरे ।
नेफाका अध्यक्ष कृष्णमान शाक्यले जनस्वास्थ्यका क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने आवश्यकता देखिएको बताए । स्वास्थ्य राष्ट्र निर्माणका लागि जनस्वास्थ्यका लगानी भन्ने नारासहित यसपटक दिवस मनाउन लागिएको भन्दै अब प्रिभेन्सनका लगानी बढाउनु पर्ने बताए ।
कार्यक्रममा उपाध्यक्ष तेजप्रसाद दुलाल महासचिव कैलाशखाकी श्रेष्ठ लगायतले जनस्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मीको महत्व र दिवसको बारेमा प्रकाश पारेका थिए ।
विसं २०४७ साल मंसिर २३ गते स्थापना भएको नेपाल जनस्वास्थ्य संघले पहिलो पटक राष्ट्रिय रुपमा जनस्वास्थ्य दिवस मनाउन लागेको हो ।
सम्पर्क इमेल : [email protected]
Ghas khana jau timi ta, mantri