चिकित्सा शिक्षामा भारतको उछाल : मेडिकल कलेज संख्या १०२ प्रतिशतले बृद्धि हुँदा एमबीबीएस सिट १३० प्रतिशतले बढ्यो
नयाँ दिल्ली, २२ मंसिर । भारतमा चिकित्सा शिक्षाका क्षेत्रमा उछाल देखिएको छ । पछिल्लो १० वर्षको अवधीमा यहाँ मेडिकल कलेजको संख्यामा १०२ प्रतिशतले बढेको छ भने सिट संख्यासोही अवधीमा १३० प्रतिशतले बृद्धि भएको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले राज्यसभालाई उपलव्ध गराएको विवरण अनुसार सन् २०१४ मा देशभर ३८७ वटा मेडिकल कलेज थियो भने सन् २०२४ मा सो संख्या बढेर ७८० पुगेको छ ।
यस्तै मेडिकल कलेजहरुमा एमबीबीएसको सिट सन् २०१४ मा ५१ हजार ३४८ थियो भने अहिले अर्थात सन् २०२४ मा सो सिट संख्या बढेर १ लाख १८ हजार १३७ पुगेको छ ।
राज्य सभालाई उपलव्ध गराइएको विवरणमा शैक्षिक सत्र २०१३/१४ मा अण्डमान निकोबार दीप, अरुणाञ्चल प्रदेश, दादरा र नगर हवेली, मिजोरम, नागाल्याण्ड, र तेलंगना जस्ता केही राज्य तथा केन्द्र शासित प्रदेशमा मेडिकल कलेजहरु थिएनन् । तर, अहिले यी सबै ठाँउमा कम्तिमा एक मेडिकल कलेज सञ्चालनमा आइसकेका छन् ।
तेलंगनामा भने अहिलेसम्म ६५ वटा मेडिकल कलेज सञ्चालनमा आइसकेको छ । अर्को अचम्म लाग्दो कुरा के पनि छ भने यो अवधीमा गोवा र चण्डीगढले भने सिटसंख्या केही बृद्धि गरे पनि मेडिकल कलेजको संख्या १ भन्दा बढाएनन् ।
मन्त्रालयका अनुसार कर्नाटक राज्यमा १० वर्षको अवधीमा २७ वटा नयाँ कलेज थपिएका छन् । २०१३/१४ को शैक्षिक वर्षमा ४६ वटा मेडिकल कलेज भएको त्यस राज्यमा २०२४ २५ मा आइपुग्दा मेडिकल कलेजको संख्या ७३ पुगेको छ ।
यस्तै महाराष्ट्रमा १० वर्षको अवधीमा ४४ वटा बाट बढेर ८० पुग्यो भने सोही अवधीमा एमबीबीएस सिटहरु ५ हजार ५९० बाट बढेर ११ हजार ८४५ पुगेको छ । नेपालसंग सीमा जोडिएको राज्य उत्तर प्रदेशमा १० वर्षको अवधीमा मेडिकल कलेजको संख्या ३० बाट बढेर ८६ पुगेको छ । पछिल्लो १० वर्षको अवधीमा एमबीबीएस सिटको संख्या पनि उत्तर प्रदेशमा ३ हजार ७४९ बाट बढेर १२ हजार ४२५ पुगेको छ ।
तमिलनाडुले पनि एमबीबीएस सिटको संख्या ५ हजार ८३५ बाट बढाएर १२ हजार ५० पुरयाएको छ ।
१० वर्ष अघि सम्म एउटा पनि मेडिकल कलेज नभएको तेलंगना राज्यमा यो अवधीमा ६५ वटा नयाँ मेडिकल कलेज स्थापना भएको छ भने ९ हजार ४० एमबीबीएस सिट पुगेको छ ।
यस्तै १० वर्ष अघि १० वटा मेडिकल कलेज रहेको राजस्थानले अहिले कलेजसंख्या बढाएर ४३ पुराएको छ । कलेज बढेसंगै एमबीबीएस सिटसंख्या पनि त्यस राज्यमा १ हजार ७५० देखि बढेर ६ हजार ४७५ मा पुगेको छ ।
यस्तै शैक्षिक वर्ष २०१३/१४ मा १२ वटा मेडिकल कलेज भएको मध्य प्रदेशमा अहिले मेडिकल कलेजको संख्या ३१ पुगेको छ भने सिटसंख्या १ हजार ७०० बाट बढेर ५ हजार २०० पुगेको छ ।
यसैगरी छत्तिसगढले १० वर्षको अवधीमा कलेसंख्या बढाएर ५ बाट १६ वटामा पुराएको छ । एमबीबीएस सिट संख्या पनि ६०० बाट बढाएर २ हजार ४५५ पुरयाएको छ ।
यता भारतकै केन्द्रीय राजधानी रहेको दिल्लीमा भने मेडिकल कलेज संख्या सामान्य बृद्धि भयो । त्यहाँ १० वर्ष अघि ७ वटा मेडिकल कलेज थियो । अहिले बढेर १० पुगेको छ । एमबीबीएस सिटसंख्या पनि ९०० बाट बढेर १ हजार ४९७ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]