राष्ट्रिय जनस्वास्थ्य दिवस २०८१ : जनस्वास्थ्यको महत्व र सवालहरू

नेपाल जनस्वास्थ्य संघ ‘Nepal Public Health Association (NEPHA)’ स्थापना भएको दिन ‘मङ्सिर २३’ लाई नेपाल जनस्वास्थ्य संघले ‘राष्ट्रिय जनस्वास्थ्य दिवस’  घोषणा गर्दै हरेक वर्ष मनाउने निर्णय गरेको छ।

विश्वव्यापी रूपमा हरेक वर्ष जनस्वास्थ्य सप्ताहको रुपमा जनस्वास्थ्यको वकालत गर्ने र सरोकारवालाहरुलाई सुसुचित गर्ने उद्देश्यले वर्षौंदेखि जनस्वास्थ्य सप्ताहको रुपमा मनाउने चलन छ।

हरेक वर्ष Thanksgiving Day को अघिल्लो सोमबारलाई Public Health Thank You Day को रूपमा मनाउँदै जनस्वास्थ्यकर्मीहरू, महामारीविद्, अनुसन्धानकर्ता, स्वास्थ्य नीति निर्माता र स्वास्थ्य सेवा प्रदायकहरू सहित जनस्वास्थ्यकर्मीहरूको परिश्रम र समर्पणलाई धन्यवाद दिने चलन पनि रहेको छ।

नेपालमा पनि स्वास्थ्य क्षेत्रका विभिन्न दिवसहरू मनाउने, स्वास्थ्य सम्बन्धी वकालत गर्ने, छलफल गर्ने, बहस पैरवी गर्ने गरिएता पनि जनस्वास्थ्य दिवसकै रुपमा भने औपचारिक रूपमा मनाइएको भने थिएन, यद्यपि नेपाल जनस्वास्थ्य सङ्घले आफ्नो वार्षिक स्थापना दिवसको अवसरमा केही कार्यक्रम गर्ने गरेको थियो।

२०४७ साल मङ्सिर २३ गते स्थापना भएको नेपाल जनस्वास्थ्य संघले आफ्नो ३४ वर्षे उमेरमा नेपालमा पनि जनस्वास्थ्यको महत्व दर्शाउन, बहस पैरवी तथा वकालत गर्नको निम्ति जनस्वास्थ्य दिवसको महत्वलाई आत्मसात गर्दै युवाहरूको मागलाई सम्बोधन गर्दै आफ्नो स्थापना दिवसलाई वार्षिक रुपमा राष्ट्रिय जनस्वास्थ्य दिवसको रूपमा मनाउने निर्णय गरेकोमा नेपाल जनस्वास्थ्य संघको वर्तमान कार्यसमितिलाई धन्यवाद व्यक्त गर्न चाहन्छु।

स्वास्थ्य भन्ने शब्द सानैदेखि सुनेता पनि जनस्वास्थ्य भन्ने शब्द मैले पहिलोपटक हेल्थ असिस्टेन्ट पढ्दा सन् २००६ मा कता कता सुनेको थिए। त्यो बेला What is Public Health? भन्ने प्रश्नबाट जनस्वास्थ्य चिनेको र C.E.A. Winslow ले तय गरेको जनस्वास्थ्यको परिभाषा “Public health is the science and art of preventing disease, prolonging life, and promoting physical health and efficiency through organized community efforts….” घोकेर जनस्वास्थ्य चिनेको मान्छे अहिले पुन: जनस्वास्थ्यको विद्यार्थीको रुपमा १८ वर्षपछि जनस्वास्थ्यलाई हेर्दा What isn’t public health? आखिर जनस्वास्थ्य के होइन त ?, जनस्वास्थ्यमा के पर्दैन त ? भन्ने प्रश्नमा रुमलिने गरेको छु।

जनस्वास्थ्य भन्ने शब्द सुन्दा पनि रमाइलो लाग्ने, जता हेर्‍यो त्यतै जनस्वास्थ्य कै भूमिका छ जस्तो लाग्ने, म जनस्वास्थ्यकर्मी भन्दा गर्व गर्न मन लाग्ने, समुदाय देखि संसार जोड्न सक्ने, जनतादेखि जगतसम्मका विभिन्न क्षेत्रहरूलाई अंगाल्न सक्ने बहुआयामिक विषय, यस विषयमा जति नै लेखे पनि जति नै बोले पनि कहाँबाट लेख्न सुरु गर्ने र कहाँ लगेर टुंग्याउने भन्ने बारेमा जनस्वास्थ्यका विज्ञहरू अलमलमै रहेका छन्। यद्यपि जनस्वास्थ्य भनेको जनतालाई कसरी स्वस्थ राख्ने, जनतालाई कसरी निरोगी बनाउने र आफ्नो स्वास्थ्य अवस्था सुधार गर्नको लागि जनतालाई नै कसरी परिचालन गर्ने, कसरी जागरुक बनाउने भन्ने एउटा विज्ञान र कला नै हो।

मैले यस लेखमा कुनै वैज्ञानिक तथ्यहरू, तथ्याङ्कहरू, खोज तथा अनुसन्धानका विषयवस्तुहरूलाई समेट्ने प्रयास गरेको छैन। एउटा जनस्वास्थ्यकर्मीको हिसाबले नेपाल जनस्वास्थ्य संघको स्थापना दिवसलाई राष्ट्रिय जनस्वास्थ्य दिवसको रुपमा मनाउनको लागि आवश्यक निर्णय गरेर जनस्वास्थ्यलाई प्रवर्धन गरिनुपर्छ भन्दै फेसबुकमार्फत तथा नेपाल जनस्वास्थ्य संघका विभिन्न बैठकहरूमा निरन्तर वकालत गर्दै आइरहेको एक युवा जनस्वास्थ्यकर्मीको हिसाबले जनस्वास्थ्य दिवसको अवसरमा आफूले जानेका बुझेका, देखेका र सङ्कलन गरेका जनस्वास्थ्यका सवालहरूलाई सरोकारवालाहरू समक्ष पुर्याउने प्रयास गरेको छु।

जनस्वास्थ्य र जनता :
स्वास्थ्य भनेको सञ्चै रहनु, बिमार नहुनु र स्वास्थ्य सेवा भनेको औषधि, डाक्टर र अस्पताल भन्ने सीमित बुझाई जनतामा भएता पनि जनस्वास्थ्य भनेको के हो भन्ने बारेमा अझै पनि गाउँसहर घरसम्म पुगेको छैन, पुगेता पनि व्यवहार परिवर्तन हुने किसिमले सचेतना फैलिसकेको छैन।

कोभिड – १९ महामारीले जनतालाई मास्क, हात धुने, दुरी कायम गर्ने, खोपको माध्यमबाट जनस्वास्थ्य के हो र किन आवश्यक छ भन्ने बारेमा थप केही सु-सुचित गरेको छ । यद्यपि कोभिड – १९ को महामारी सकिसकेपछि पुन: हामीले जनतालाई जोड्ने गरी जनस्वास्थ्यलाई चिनाउने कामहरू गर्न सकेका छैनौँ ।

त्यसैले जनस्वास्थ्यका क्षेत्रमा प्रभाव पार्ने अन्य क्षेत्रहरू, जनप्रतिनिधि, राजनीतिककर्मी र अरु सरोकारवालाहरू समक्ष जनतालाई जनस्वास्थ्यसँग प्रत्यक्ष जोड्ने गरी हामीले हाम्रा नीति, रणनीति तथा कार्यक्रमहरू बनाएर बहस, पैरवी र वकालत गर्नु अहिलेको आवश्यकता रहेको छ।

जनस्वास्थ्यका विविध आयामहरुले व्यक्ति, समुदाय र देशलाई स्वस्थ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउन सकिने कुरा, जनचेतना अभिवृद्धि, रोगको रोकथाम, खानपान, योग आदि जस्ता कुराहरुलाई एकीकृत रुपमा जनस्वास्थ्यको महाअभियानको रूपमा जनता समक्ष पुर्‍याउँनु अपरिहार्य छ।

जनस्वास्थ्य र जनस्वास्थ्यकर्मी :

सर्वप्रथम नेपालमा जनस्वास्थ्य के हो ? जनस्वास्थ्यकर्मी को हुन् ? भनेर हामीले तय गरेको जनस्वास्थ्यको दायरालाई परिमार्जन गर्दै केही फराकिलो बनाउँदै जनस्वास्थ्यलाई स्वास्थ्य क्षेत्रको छाताको रूपमा विकास गर्दै जानुपर्दछ।

जनस्वास्थ्य यस्तो छाता बनोस् जहाँ level of prevention का सबै चरणहरू (premedical, primary, secondary, and tertiary) मा काम गर्ने सबै स्वास्थ्य जनशक्ति र अनुसन्धानकर्ताहरूलाई उचित तरिकाले समेट्न सकियोस्, ताकी जनस्वास्थ्य सबैको साझा एजेण्डा बनोस्।

आफ्नो पढाइको विषयवस्तु, विज्ञताको आधारमा स्वास्थ्यकर्मीहरूभित्र रहेका सेवा समूहहरुबीच पदीय जिम्मेवारी, भूमिका, शक्ति र पेशागत विकासको लागि प्रतिस्पर्धा हुनु स्वभाविक नै हो। तर नेपालको परिपेक्षलाई हेर्ने हो भने स्वास्थ्य सेवा ऐन र नियमावलीले परिभाषित गरेका विभिन्न समूह र उपसमूहहरूले नै हाम्रा एजेन्डाहरू तय गरेको देखिन्छ, जसले गर्दा जनस्वास्थ्यको मूलभूत एजेण्डाहरु अरु क्षेत्र र सरोकारवाला निकायहरू समक्ष एकै हिसाबले पुग्न सकेको छैन।

जनस्वास्थ्यलाई आफ्नै ढङ्गबाट विभिन्न तरिकाले व्याख्या गर्ने गरिन्छ। उदाहरणको लागि केही स्वास्थ्यकर्मीलाई जनस्वास्थ्य भनेको स्वास्थ्य सेवा ऐनले निर्धारण गरेको हेल्थ इन्स्पेक्सन समूह वा अधिकृत र सोभित्र अटाउन सक्ने जनशक्ति मात्रै हुन् भन्ने लाग्छ, कोही फेरि चिकित्सक, नर्स, फार्मेसी, ल्याव, स्वास्थ्य शिक्षा, आयुवेद विषय अध्ययन पश्चात थप जनस्वास्थ्यमा स्नात्कोतर नै अध्ययन गरेपनि म जनस्वास्थ्यकर्मी हुँ भनेर खुलेर वकालत गर्न सकिरहेको अवस्था छैन। आफ्नो पृष्ठभूमिको पेशालाई प्राथमिकताभित्र राख्नु स्वभाविक नै हो यद्यपि राज्यले परिभाषित गरेको जनस्वास्थ्यको दायराले ठूलो प्रभाव पारिरहेको छ।

अर्कोतर्फ हेर्ने हो भने दैनिक जनस्वास्थ्यको प्रशासन सञ्चालन गर्ने, जनस्वास्थ्यकै विषयवस्तुहरूमा छलफल गर्ने तर आफ्नो पृष्ठभूमिको पेशाको कारणले जनस्वास्थ्य भन्ने शब्द उच्चारण गर्न अप्ठ्यारो मान्ने जनशक्तिहरू पनि छन् । यसमा हामीले कसरी जनस्वास्थ्यलाई परिभाषित गरेका छौं भन्ने विषयले ठूलो प्रभाव पारिरहेको छ।

अर्कोतर्फ हेर्दा पृष्ठभूमि अध्ययन फरक किसिमको विषयमा गरेका तर हामीले तय गरेका जनस्वास्थ्यका परिभाषाहरू भित्र नपर्ने जनशक्तिहरूले समेत जनस्वास्थ्यको क्षेत्रमा अध्ययन, अनुसन्धान, विधि र विकासमा उल्लेखनीय भूमिका पुर्‍याइराखेका छन्, त्यसैले जनस्वास्थ्यलाई पेशाको पद भन्दा केही माथि उठेर जनताको स्वास्थ्यलाई जोड्ने विश्वव्यापी प्रचलित अभ्यासलाई आत्मसाथ गर्दै पूर्ण रूपमा परिभाषित गर्न जरुरी छ।

स्वास्थ्य प्रणाली र जनस्वास्थ्य :
नयाँ संविधानले कोरेको खाका अनुसार बनेको संघीय संरचना अनुसार स्वास्थ्य सेवा प्रवाह र व्यवस्थापनमा सोचेअनुरुप व्यवस्था हुन नसकेको कुरा जनजाहेर नै छ।

स्वास्थ्य क्षेत्रको तत्कालिन संरचना केन्द्र देखि समुदायस्तरसम्म रहेको र हालको संरचनाले सबै तहहरुलाई प्रतक्ष्य जोड्न र कार्यसम्पादनमा एकरुपता ल्याउन नसकेको र पूर्ववत नेटवर्क खारेज भएको हुँदा स्वास्थ्य कार्यक्रमहरुमा गुणस्तर सुनिश्चितता, प्रभावकारीता, श्रोत सुनिश्चिततता र गतिशील रुपमा कार्यक्रम संचालन हुन नसकेको अवस्था छ ।

यस्तै  स्वास्थ्य संस्था हस्तान्तरण तथा कर्मचारी समायोजन पश्चात स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी खटनपटनमा राजनीतिक हस्ताक्षेप हुने, स्वास्थ्य जनशक्तिको स्थानीय तहमा आकर्षण घट्दै गईरहेको देखिन्छ ।

स्थानीय सरकारको कार्यपालिकाको कार्यालयमा रहेर स्वास्थ्य सम्वन्धी नीति, योजना, वजेट तर्जुमा अनुगमन, मूल्यांकन , प्रदेश तथा संघीय सरकारका कार्यक्रमहरुलाई स्थानीय तहमा कार्यान्वयन गर्न प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने स्वास्थ्य जनशक्ति (ठ्याक भन्दा जनस्वास्थ्य पढेको) व्यवस्थापकको दरवन्दी कायम हुन् नसकेको आदि जस्ता विविध समस्या तथा चुनौतीहरुले स्वास्थ्य प्रणालीको कार्यक्षमतामा ठुलो असर परिरहेको छ।

त्यसैले संघीयता पछि देखापरेका समस्या तथा चुनौतीहरुलाई सुधार गर्न हालसम्मको अनुभवको आधारमा खुला वहस, वृहद छलफल र पारदर्शी तरिकाले स्वास्थ्य क्षेत्रको पुनर्संरचना गर्न अपरिहार्य छ।

त्यसका लागि म कहाँ रहने ? मेरो पद कहाँ हुने ?, मेरो भूमिका कसरी वलियो पार्ने ?, मेरो समुह कहाँ रहने ? भन्ने व्यक्ति केन्द्रीत सोच भन्दा एक दुई कदम माथी उठेर प्रणाली केन्द्रीत, जनता केन्द्रीत स्वास्थ्य प्रणालीको खाका तय गर्न गर्न वर्तमान नीति निर्माता तथा सरोकारवालाहरुले प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी छ।

जनस्वास्थ्यकर्मी र जनप्रतिनिधि:

‘हेल्थ पोलिसी, प्रोसेस एण्ड पावर’ भन्ने अध्ययन गर्दै गर्दा पव्लिक हेल्थ र पोलिटिक्स एक आपसका परिपुरक हुन भन्ने कुरा स्पष्ट रुपमा बुझियो । तर फर्केर हाम्रो देशमा हेर्दा जनस्वास्थ्य भित्रै राजनीति चाँही हुने तर जनस्वास्थ्य राजनीतिको एजेण्डा बन्न भने सकिरहेको अवस्था छैन। त्यसैले हामीले स्वास्थ्यलाई राजनीति र राजनीतिकर्मी अर्थात् जनप्रतिनिधि (संघीय सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरु),राजनीति दलका केन्द्रीय समितिलाई संघीय सरकारले, प्रदेश समितिलाई प्रदेशले, स्थानीय समितिलाई स्थानीयले नियमित जोड्ने, वहस, पैरवी र वकालत गर्दै जनस्वास्थ्यको अवधारणा राजनीतिकर्मीहरुलाई वुझाउन र सहभागी गराउनको लागि खोप कार्यक्रम, पोषण कार्यक्रम भनेजस्तै प्राथमिकता भित्रै राखेर जनस्वास्थ्य बुझाउन जरुरी छ।

जनस्वास्थ्य र नेपाल जनस्वास्थ्य संघ:

विसं २०४७ साल मङ्सिर २३ गते स्थापना भएको नेपाल जनस्वास्थ्य संघ र मेरो उमेर लगभग उस्तै छ।

नेपालमा राष्ट्रिय जनस्वास्थ्य दिवस चाहिन्छ भन्ने कुरा राम्रोसँग बुझ्नऔपचारिक रुपमा ३४ वर्ष लाग्यो त्यै पनि राम्रो काम गर्न कहिले पनि ढिला हुदैन भन्ने सोच सहित नेपाल जनस्वास्थ्य संघलाई धन्यवाद सहित मैले नियमित रुपमा सामाजिक संजाल मार्फत सधै दिईरहने तपशिल सुझावहरु राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा सुझावको रुपमा पुन: पेश गर्दछु।

१. राष्ट्रिय जनस्वास्थ्य दिवस अब नेपाल जनस्वास्थ्य संघको मात्रै होइन यसलाई सरकारको आफ्नो क्यालेन्डरमा आउने दिवसको रुपमा मनाउनको लागि आवश्यक सहकार्य र समन्वय गर्ने।

२. Public health professional data-base  तयार गर्ने तथा सदस्य हरुलाई डिजिटल मेम्वरसिप कार्ड प्रदान गर्ने।

३.  Brain gain को अवधारणा अनुसार विदेशमा रहेका नेपाली जनस्वास्थ्यकर्मीहरुलाई समेट्न विभिन्न देशहरुमा संगठन विस्तार गर्ने। स्वास्थ्यका अरु पेशागतसंग संस्थाहरुसँग साझा धारणा तथा एजेण्डाहरुमा सँग काम गर्ने, सहकार्य गर्ने, MoU गर्ने।

४. नेपाल स्वास्थ्य व्यवसायी परिषद्सँग सहकार्य गरि सदस्य बढाउने तथा online e-learning system/courses, Continuous Public Health Education Program सुरु गर्ने।

५.  Webinar सदा झैँ निरन्तरता दिने, Policy dialogue,  Monthly newsletters, plan, policy update memos, NEPHA Journal नियमित प्रकाशन गर्ने ।

६. Annual Meeting  लाई scientific session हरु सहित हरेक वर्ष आयोजना गर्ने।

७.Fresh Graduate हरुलाई Experience का लागि कुनै निश्चित समयको लागि विभिन्न संघसंस्थामा Paid internship को व्यवस्था गर्न M0U गरी अवसर सृजना गर्ने ।

८. अरु देशका जनस्वास्थ्यका पेशागत संघहरु सँग MoU गरी Professional Exchange Program, Fellowship, Studentship, Scholarships हरु ल्याउने ।

९. सरकारलाई Evidence based policy development मा प्राविधिक सहयोग तथा Influence बढाउनको लागि NEPHA Technical expert परिचालन गर्न जनस्वास्थ्यका विभिन्न विधाहरुमा विज्ञ समूह गठन गर्ने र तीनै तहका सरकारलाई सहयोग गर्ने, संघ, प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य प्राविधिक समितिहरुमा नेफाको प्रतिनिधित्व सुनिश्चित हुने गरी सरकारहरुसँग सहकार्य गर्ने।

१०. जनस्वास्थ्य सँग जोडिने हरेक दिवस मनाउने, समसामयिक विषयहरुमा विगेप्ति, ध्यानाकर्षण तथा ज्ञापान(पत्र पेश गर्ने र Continuous follow -up गर्ने।

११. परियोजनाहरुमा समेत अगाडी बढ्दै संस्थागत विकास र श्रोतहरु बृद्धि गर्ने।

१२. हरेक प्रदेश तथा जनस्वास्थ्यका पढाई हुने विश्व विधालय तथा कलेजहरुमा Networking events हरु आयोजना गर्ने।

आदि।

अन्त्यमा , ‘जनस्वास्थ्यमा लगानी गरौं, स्वस्थ राष्ट्र निर्माण गरौं’ भन्ने मूल नारा सहित यस वर्ष मनाईएको जनस्वास्थ्य दिवसको सम्पूर्ण जन ९स्वास्थ्य० कर्मीहरुलाई शुभकामना व्यक्त गर्दछु।

# पौडेल  नेपाल जनस्वास्थ्य संघका आजिवन सदस्य हुन् । हाल लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन र लण्डन स्कूल अफ ईकोनमिक्स एण्ड पोलिटिकल साइन्स, बेलायतमा हेल्थ पोलिसी, प्लानिङ् एण्ड फाइनान्सिङ अध्ययनरत छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *