सन्दर्भ : पहिलो जनस्वास्थ्य दिवस - २०८१

पहिलो पटक मनाउन लागिएको राष्ट्रिय जनस्वास्थ्य दिवसको आकर्षण के – के छन् ?

– विकेश मल्ल

जनस्वास्थ्य पेशाकर्मीहरुको साझा संगठन नेपाल जनस्वास्थ्य संघ (नेफा) स्थापना भएको ३४ वर्ष पुग्न आँटेको छ ।

जनस्वास्थ्य पेशाको संरक्षण र संवर्द्धन गर्ने, जनस्वास्थ्य व्यवसायीहरुको ज्ञान सीप र क्षमता विकास गर्ने, जनस्वास्थ्य पेशालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मर्यादित र गतिशिल बनाउने कार्यमा लाग्ने उदेश्यका साथ विसं २०४७ साल मंसिर २३ गते यसको स्थापना भएको हो । यति मात्रै होइन, नेफा सरकारी तथा गैहसरकारी क्षेत्रमा क्रियाशिल जनस्वास्थ्यकर्मीहरुको विज्ञताको भरपुर प्रयोगको लागि नेतृत्वदायी तथा समन्वयकारी भूमिका बहन गर्ने र जनस्वास्थ्य सेवा तथा शिक्षालाई समसामयिक बनाउने,  संगठित, स्वशासित र गैह्रराजनीतिक संस्थाको रुपमा पनि आफूलाई उभ्याएको छ ।

नेफाको १५ औँ केन्द्रीय कार्य समिति २०८० चैत्र २७ गते निर्वाचित भयो ।

संघको १३ औँ अधिवेशन तथा २४ औँ साधारण सभा – २०८१ बाट नयाँ समितिले आधरिकारिक रुपमा पदस्थापना गरी जनस्वास्थ्य पेशासंग सम्बन्धित आवश्यक विचार विमर्श तथा वहस पैरवीका कार्यहरु सुरु गरेको हो ।

नेफाले गर्न थालेका क्रियाकलाले सदस्यहरुबीच अपेक्षा दिन प्रतिदिन बढ्दै जाँन थाल्यो । यसको सुधार र देखिने तथा सुनिने गरि काम गर्न आम जनस्वास्थ्य पेशाकर्मीहरुको पक्षबाट संगठनको बलियो बिस्तार गर्न सुझाव आउन थाले । सुझावमा त्यति मात्रै होइन, राष्ट्रिय जनस्वास्थ्य दिवस मनाउने, जनस्वास्थ्य परिषद् स्थापना गर्न पहल गर्नु पर्ने जस्ता सुझावहरु पनि आउन थाल्यो ।

यसैलाई मध्यनजर गर्दै नेपाल जनस्वास्थ्य संघको विधान २०४७ को दफा ३३ मा भएको व्यवस्था बमोजिम नेपाल जनस्वास्थ्य संघको केन्द्रीय समितिको निर्णयानुसार संघको स्थापना दिवसको अवसरमा मिति २०८१ साल मंसिर २३ गतेलाई “पहिलो राष्ट्रिय जनस्वास्थ्य दिवस” मनाउने निर्णय भएको हो ।

पहिलो स्थापना दिवसमा के कस्ता कार्यक्रम हुँदैछन् ?

जनस्वास्थ्य बिषयका महत्व तथा यस क्षेत्रका सवालहरुलाई उजागर गरी राज्यका विभिन्न निकाय तथा सरोकारवालाहरुलाई जनस्वास्थ्यको प्राथमिकताका वारेमा सचेतना गर्ने उदेश्यका साथ संघको स्थापना दिवस पारेर “स्वस्थ रास्ट्र निर्माणका लागि, जनस्वास्थ्यमा लगानी” भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरेको छ ।

सो कार्यक्रम सातवटै प्रदेशमा गर्ने क्रममा १४ मंसिरमा कोशी प्रदेशबाट सुरु भई २० मंसिरमा कर्णाली प्रदेशमा पुगेर टुंगिएको छ ।

केन्द्रीय कार्यक्रम अन्तर्गत स्वास्थ तथा जनसंख्या मन्त्रालय र विविध संघ संस्थाहरुको सहकार्यमा आगामी आइतबार अर्थात २३ मंसिरमा काठमाडौको त्रिपुरेश्वर स्थित होटेल बोगेन भिल्लामा बृहत कार्यक्रमको आयोजना गरिदैछ ।

यस कार्यक्रममा स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विज्ञ तथा पेशाकर्मीहरु, स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अनुसन्धानकर्ताहरु, स्वास्थ्य क्षेत्रमा कार्यरत ट्रेड युनियनका प्रतिनिधिहरु, गाउपालिका नगरपालिका महासंघका प्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहने छ ।

दिवसमा देशको जनस्वास्थ्य क्षेत्रमा लगानीको अवस्था तथा भावी रणनीतिका सम्बन्धमा प्यानल छलफल, जनस्वास्थ्य क्षेत्रका प्रमुख सवालहरुमा प्रस्तुतिकरण लगायतका कार्यक्रम रहेका छन् ।

हुन पनि  देश संघीयतामा गएपश्चात् जसरी जनस्वास्थ्य क्षेत्रका नीतिगत व्यवस्थादेखि कार्यान्वयनका चरणहरुसम्म जनस्वास्थ्य विज्ञहरुको विज्ञताको प्रयोग गरी संघ, प्रदेश तथा स्थानीय तहमा भएका समग्र जनस्वास्थ्य सूचकमा सुधार हुन सक्थे, त्यसरी हुन नसकेको देखिन्छ।

जनस्वास्थ्यका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर नीति तथा बजेट कार्यक्रम तय गरी सो बमोजिमका अपेक्षित उपलब्धीहरु हासिल गरिनु पर्ने थियो तर राज्यले त्यो बाटो पुर्णरुपमा तय गर्न नसकेको अवस्था छ।

तसर्थ, जनस्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र व्यवस्थित बनाई आम जनमानसको स्वास्थ्य स्थितिलाई अधिकतम् स्वस्थ अवस्थामा पुर्‍याउने कार्यमा यो दिवस मनाउन लागिएको हो ।

अत: यस कार्यक्रमले जनस्वास्थ्य पेशाकर्मीहरुलाई एकीकृत गर्नुका साथै पेशागत हकहितको संरक्षण र संवर्द्धन गर्दै जनस्वास्थ्य सम्बन्धी नीतिगत सवाल, पेशाको विकास र विस्तार तथा संघको महत्वको बारेमा प्रकाश पार्ने छ ।

यस्तै संघको अपरिहार्यताका साथ अध्ययन अनुसन्धानमा प्राथमिकता, जनस्वास्थ्य क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्ने जस्ता कार्यका लागि पनि सहयोगी हुने अपेक्षा गरिएको छ ।

# मल्ल नेपाल जनस्वास्थ्य संघका केन्द्रीय समिति सदस्य हुन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *