एचपीभी खोप अभियानका लागि बागमतीले सुरु गर्‍यो प्रदेशस्तीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी

खोप र क्यान्सर स्क्रिनिङ हाम्रो प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री थापा

काठमाडौँ, २० मंसिर । सरकारले आगामी २२ माघ देखि १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध दिईने एचपीभी खोपको अभियान सञ्चालन गर्दैछ । त्यसका लागि संघीय सरकारसंगै प्रदेश तथा स्थानीय तहले पनि आ आफ्नो तयारीहरु अघि बढाइरहेका छन् ।

यहि क्रमलाई निरन्तरता दिने क्रममा बागमती प्रदेश सरकारले पनि आजबाट काठमाडौँमा प्रदेशस्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सञ्चालन गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको सो गोष्ठी दुई दिनसम्म चल्ने छ । गोष्ठीमा प्रदेश भित्रका १३ वटै जिल्लाका स्वास्थ्य प्रमुख तथा खोप अधिकृतहरु सहभागि छन् ।

खोप र क्यान्सर स्क्रिनिङ हाम्रो प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री थापा

बिहीबारबाट काठमाडौँमा सुरु भएको प्रदेशस्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्न पुगेका बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले पाठेघरको क्यान्सर विरुद्धको खोप र क्यान्सर स्क्रिनिङ कार्यक्रम प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।

‘क्यान्सरको जोखिम बढ्दो क्रममा छ । तर स्क्रिनिङ गर्न सकियो समयमै रोग पत्ता लाग्यो भने निको हुन्छ । एचपीभी खोपले भविस्यमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सक्छ । यी सावधानीका उपायहरु अपनाउँदा धेरै सम्भावित जोखिमहरु कम गर्न सकिन्छ । म आफू प्रदेशको स्वास्थ्य मन्त्री भए देखि सबैभन्दा बढी फोन क्यान्सर पिडीतहरुले उपचारका लागि सहयोग गरिदिनुहोस भन्दै आउने गरेको छ । त्यसैले पनि खोप र स्क्रिनिङ कार्यक्रम हाम्रो प्राथमिकतामा छ,’ उनले भने ।

हुन पनि संघीय सरकारले एचपीभी खोपको निधो नगरेका बेला बागमती प्रदेशले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा यो कार्यक्रम पारेर खोपका लागि रकम समेत छुट्याएको थियो । पछि संघीय सरकारले ल्याउने भएपछि आफूहरु सो योजनाबाट पछि हटेको मन्त्री मगरले सुनाए ।

उनले अहिले नेपाली महिलाहरुमा महिलाहरुमा सबैभन्दा बढी देखिएको स्तन क्यान्सरको समेत स्क्रिनिङ गर्ने योजना अघि सारेको बताए । मन्त्री मगरले सबै प्रादेशिक अस्पतालहरुमा म्यामोग्राम सेवा उपलव्ध गराउने सरकारको नीति भएको भन्दै धादिङ अस्पतालमा म्यामोग्राम मेसिन जडान भइसकेको बताए ।

मन्त्री मगरले क्यान्सर बिरामीका लागि प्रदेश सरकारले दिदै आएको ५० हजार रकमलाई बढाएर १ लाख रुपैयाँ  पुर्‍याँउन सकिन्छ कि भनेर कोशिष गरेको जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले अहिले बागमती प्रदेश भित्र तोकिएको उमेर समूहका २ लाख ७३ हजार १२१ जना किशोरीहरुलाई खोप दिने योजना रहेको भन्दै यसलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले अहिले प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठी भएको भन्दै अब जिल्ला तथा स्थानीय तहले पनि आ आफ्नो ढंगले तयारीमा लाग्ने जानकारी दिए । डा झाले बागमतीले यसअघिका विभिन्न खोप अभियानलाई कुशलतापूर्वक सम्पन्न गरिसकेको भन्दै अबको अभियानलाई पनि कुशलतापूर्वक सम्पन्न गर्ने बताए ।

कार्यक्रममा निमित्त स्वास्थ्य सचिव सागर घिमिरे, स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा अभियान गौतम लगायतले एचपीभी खोप अभियानका विषयमा बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *