प्रधानमन्त्रीको चीन भ्रमण : स्वास्थ्यका के के विषयमा भयो सम्झौँता ?
काठमाडौँ, १९ मंसिर । चीनले नेपालको स्वास्थ्य क्षेत्रका लागि थप सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । चार दिने औपचारिक भ्रमणमा चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार त्यहाँका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्तापछि जारी गरिएको १२ बुँदे संयुक्त वक्तव्यमा उक्त विषय उल्लेख छ ।
वक्तव्यको छैटौँ नम्बर बुँदामा स्वास्थ्य र चिकित्सा सहयोगलाई निरन्तरता उल्लेख गर्दै चीनको तर्फबाट भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चीनको सहयोगमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा परियोजना अघि बढाउन दुबै पक्ष सहमत भएको उल्लेख छ ।
यस्तै दुबै पक्षले नेपालका चीनबाट सहायता प्राप्त अस्पतालहरुलाई पूर्ण रुपमा उपयोग गर्ने र सो अन्तगर्त काठमाडौँमा रहेको निजामती सेवा अस्पतालमा नयाँ चिकित्सा सेवा विन्दु स्थापना गर्न चिनियाँ मेडिकल टोलीलाई सहयोग गर्ने छ ।
यस्तै क्यान्सरका बिरामीको उपचारका लागि चिनियाँ सहयोगमा निजामती सेवा अस्पतालमा कार टी सेल प्रयोगशाला स्थापना तथा अध्ययन गर्ने विषयमा समेत दुबै पक्ष सहमत भएको उल्लेख छ ।
यसैगरी दुबै पक्षले परम्परागत औषधि सहयोग सम्वन्धी समझदारी नविकरण गर्न, चीन नेपाल परम्परागत चिकित्सा सहयोग आयोग स्थापना गर्न तथा चीन नेपाल परम्परागत चिनियाँ औक्षधि केन्द्रबाट नेपालमा निशुल्क उपचार, कर्मचारी तालीम तथा चिकित्सा सेवा उपलव्ध गराउन पनि सहमत भएको उल्लेख छ ।
प्रधानमन्त्री ओली २० मंसिरमा स्वदेश फर्कने कार्यक्रम छ ।
सम्पर्क इमेल : [email protected]