प्रधानमन्त्री ओली चीन प्रस्थान, के के छन् एजेण्डा ?
काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री केपी ओली उत्तरी छिमेकी चीनको चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। हिमालय एयरलाइन्सको चार्टर उडानबाट प्रधानमन्त्री बेइजिङ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीहरूलगायत छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेकार्यक्रम तय भएको छ । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको भ्रमणमा यसपटक नेपालले चीन समक्ष दुईवटा प्रस्ताव अघि सार्ने तयारी गरेको छ ।
काठमाडौंमा सुपरस्पेसियालिटी सेवा सहितको न्यूरो अस्पताल निर्माणको विषय र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र काठमाडौंमा रहेको निजामती अस्पतालको सेवा सुविधा विस्तार गर्ने विषय रहेको छ। यी दुवै अस्पतालहरु चीन सरकारकै सहयोगमा निर्माण भएका हुन्।
प्रधानमन्त्री ओली २० मंसिरमा स्वदेश फर्कने छन् ।
सम्पर्क इमेल : [email protected]