नक्कली प्रमाणपत्रको आरोपमा अहेव बोहराविरुद्ध मुद्दा दायर

काठमाडौँ, १४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिका अन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव रमेश बोहराविरुद्ध  मुद्दा दायर गरेको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

आयोगका अनुसार उनीविरुद्ध शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै आवश्यक छानबिनका लागि उजुरी परेको थियो ।

बोहराले काउन्सिल फर टेक्निकल इजुकेसन एन्ड भोक्यासनल ट्रेनिङ, अफिस अफ द कन्ट्रोलर अफ इक्जामिनेस, भक्तपुरबाट जारी भएको कम्युनिटी मेडिसिन एसिस्टेन्ट तहको झुट्टा नक्कली मार्कसिट र प्रमाणपत्रहरू पेस गरी परशुराम नगरपालिका-८ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ११ भदौ २०७७ मा अहेब तहमा नियुक्त भई हालसम्म बहाल रहेको देखिन आएको आयोगले जनाएको छ ।

उनलाई आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ.ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *