नक्कली यार्शागुम्बा बनाई बिक्री गर्ने गिरोह पक्राउ
काठमाडौँ, १४ मंसिर । यौन क्षमता बढाउने, शक्ति बढाउने, स्टामिना बढाउने हिमाली जडिबुटी औषधि भन्दै नक्कली यार्शागुम्बा उत्पादन र बिक्री वितरण गर्दै आएको ठगी गर्ने गिरोह पक्राउ परेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने ३४ वर्षका सुजन गौतम, काभ्रे नमोबुद्धका २७ वर्षीय सुजन खड्का, ओखलढुंगा सिद्धिचरणका ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे रहेका छन् ।
सीआईवीका अनुसार सो गिरोहले शिखर यार्शा पावर, हिमाली यार्शा प्लस, यार्शागुम्बा गोल्ड, यार्शा किङ, हिमाली यार्शागुम्बा, यार्शागुम्बा किङ, यार्शागुम्बा किङ प्लस, यार्शागुम्बा प्रिमियम, सुगर कन्ट्रोलर ग्यामनेमा, पाइल्स निको ओएल, चचरी ओएल, बुटी सुपर्व हरबल ओएल लगायतका विभिन्न नाममा बट्टाहरु र यसको क्याप्सुलहरु देखाई फेसबुक टिकटक युट्युव जस्ता सामाजिक सञ्जालमा आकर्षक तथा अश्लिल विज्ञापन गर्ने गरेका थिए ।
उनीहरुले विज्ञापनमा बृद्ध देखि युवाहरुलाई खान मिल्ने, कुनै साइड इफेक्ट नभएको, डाक्टरको सिफारिस नचाहिने भनेर सर्वसाधारणलाई भ्रम सिर्जना गरेको सीआईबीले जनाएको छ । गिरोहले एक बट्टाको २ हजार देखि २५०० मूल्य देखार्य डेलिभरीका लागि विज्ञापनमा मोवाइल नम्बर समेत उल्लेख गर्ने गरेको थियो ।
सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलबाड भै ठगि भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भक्तपुरको गठ्ठाघरस्थित सुरेन्द्र श्रैष्ठको घरको पहिलो तलामा भाडामा लिएर स्टोर सञ्चालन गरिरहेको ठाउँबाट र ललितपुरको महालक्ष्मी टाउनप्लानिङमा सञ्चालनमा रहेको बायो फुड्स नेपाल प्रालि नामक फुड्स सप्लीमेन्ट फ्याक्ट्रीबाट उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
सीआईबीले स्टोरबाट ६५ लाख २८ हजार मूल्य उल्लेख गरिएको नक्कली ती यार्शा समेत बरामद गरेको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]