‘जन्मिएको ३७ वर्ष पछि ड्याडी मम्मीको सामु छोरी भएँ’

गएको लक्ष्मी पुजाको अघिल्लो दिन अर्थात १४ कात्तिकमा, ड्याडी मम्मी युकेबाट आउँदै हुनुहुन्थ्यो ।

अनि इमाडोलस्थित घरको बैठक कोठामा परिवारको अन्य सदस्यहरुको तस्वीरसंगै छोरीको भेषमा खिचेर ‘फ्रेमिङ’ गरिएको मेरो रंगिन तस्बिर पनि टाँगिएको थियो ।

यो मेरो तस्बिर अहिले मात्रै होइन, केही पहिले देखि नै टागिने गर्दथ्यो तर जब ड्याडी मम्मी आउनु हुन्थ्यो डर लाग्दथ्यो र तस्बीर झिकेर लुकाउँथें ।

किनभने, उमेरले ३७ वर्ष पुरा गरिसक्दा समेत मैले आफ्नो अनुभूति र आफ्नो पहिचानबारेमा खुलेर ड्याडी मम्मीलाई भन्न सकिरहेको थिईन ।

यसपटक उहाँहरु आएको बेलामा म आफ्नो अनुभूति र पहिचानको बारेमा जसरी पनि भन्छु भन्ने थियो ।

मेरो मनले सधै भन्थ्यो,  ‘म छोरा होईन,’ फरक हुँ, जन्मँदा पाएको लिंग र लेखिएको नाम पुरुष भए पनि अनुभूतिका आधारमा महिला हुँ । अनि मलाई लाग्थ्यो,  ‘पढे लेखेका मेरा ड्याडी मम्मी, संसार घुमेका बुझेका हुनुहुन्थ्यो र मास्टर्स लेभलको पढाई पुरा गरिसकेकी म आफै पनि यस कुरालाई सजिलै व्याख्या गरेर सहज रुपमा उहाँहरुलाई बुझाउँछु र बास्तविक पहिचान खुलाउँछु ।’

तर कसरी सक्नु ?

परिवारका दिदी अंकल, फुपुहरुसंग तीनवर्ष अघि नै खुलेको भए पनि ड्याडी मम्मीसंग कहाँ सक्नु ? परिवारको जेठो छोरोको रुपमा हेरिरहेको उहाँहरुको मनमा के बिज्दो होला भन्ने लाग्थ्यो । त्यसैले त यस अघि ड्याडी मम्मी दुई पटक आउँदा भित्तामा टाँगिएको छोरीको भेषमा सजिएको मेरो फोटो झिकेर लुकाएकी थिएँ ।

यस पटक थोरै साहास गरें ।

ड्याडी मम्मीले देख्नुहोस भनेर नै फोटो भित्तामै रहन दिएँ ।

घर छिर्ने वित्तिकै ड्याडीले भित्तामा राखेको मेरो फोटो हेर्नु भयो र भन्नु भयो, ‘ओ हो आफ्नो आइडेन्टिटीको फोटो राखेछौ ।’

म नर्भस थिएँ ।

त्यो दिन अरु खास कुरा भएन ।

ड्याडी मम्मीले सामान्य रुपमा लिएको देखेपछि साहास बढ्यो । लक्ष्मी पुजाको दिन म लक्ष्मीबनेर बुबा आमाको अगाडी खुल्ने भन्ने मेरो योजना थियो ।

भोलिपल्ट लक्ष्मीपुजाको दिन । पुजाको सबै तयारी भएपछि म आफ्नो कोठामा छिरें । साडी मेकअप लगाएर तयार पनि भएँ ।

तर, बाहिर निस्कन निकै असहज भयो, डर लाग्यो ।

ड्याडी मम्मीले छिटो आउँ भन्दै बोलाउनु हुन्थ्यो मलाई भने निस्कन नै गाह्रो थियो । तयार भएको करीव आधा घण्टासम्म कोठा भित्रै रहेर अनि बाहिर निस्कें ।

सरासर ड्याडी मम्मीसंग गएर भने, ‘म आजबाट लक्ष्मी भएँ ।’

उहाँहरुले आशीर्वाद दिनुभयो । अनि भन्नुभयो, ‘पहिले छोरा थियौँ अब छोरी भयौँ । आँटेको कुरा पुरा होस् ।’

यसपछि त मलाई के चाहियो र,  ठूलो जन्जिरबाट मुक्ति पाए झैँ भयो ।

त्यसपछि ड्याडीले मलाई सर्जरी गर्ने हो कि भनेर पनि सोध्नु भएको थियो । मैले त्यस्तो योजना अहिले मेरो छैन भनिदिएँ ।

………………………………………………………………..

खोटाङमा जन्मिएकी हुँ, प्लस टू सम्मको शिक्षा त्यहि नै पुरा गरें । व्याचलर पछि काठमाडौँ आएकी हुँ ।

परिवारमा मेरो दिदी, भाई बैनीहरु छन् । जन्मदा म छोरा । तर उमेर बढ्ने क्रममा १० – ११ वर्ष देखि नै मेरो आनी बानी केटा भन्दा फरक लाग्न थाल्यो । उमेर बढ्दै जाँदा केटाप्रतिनै आकर्षित हुने, केटालाई देख्दा शरीरमा जिरिङ्ग अनुभूति हुने हुन थाल्यो ।

गाउँमा बुबा विद्यालयको प्रधानाध्यापक आमा शिक्षक, हेडसरको छोरालाई कसले जिस्काउने ? त्यसैले खासै ‘बुलिङ’ भएन । तर सानो देखि नै दाई भाई अंकलसंग संगत नगर्ने, दिदी बहिनी र फुपुहरुसंग बोल्न खेल्न र साथी बनाउन रुचाउने  स्वभावले गाँउमा मलाई छिमेकीहरुले यो त दिदी बैनीको संगतमा लागेर केटीजस्तै बानी व्यहोरा देखाउन थाल्यो पनि भन्नु हुन्थ्यो ।

तर म थिएँ नै त्यस्तै ।

ड्याडी मम्मीले भाई बैनीलाई काठमाडौँ पढाउने योजना गराएपछि म गार्जेन जस्तै बनेर यहाँ आएँ । उनीहरुसंग संगै हुँदा मलाई खासै समस्या भएन । काममा व्यस्त थिएँ । तर जब बहिनीको विहे भयो । भाई विदेशतिर उड्यो । त्यसपछि म एक्लो भएँ ।

दविएको जस्तो आफ्नो अनुभूति फेरी स्पष्ट ढंगले प्रकट हुन थाल्यो । त्यसपछि मलाई त्यो के मन पर्छ के चाहना हो भन्ने सोच्न थालेँ ।
जब घर बनाएर इमाडोल सरियो । त्यसपछि भूमिका श्रेष्ठ दिदीले चलाउने एनटीभीको कार्यक्रम हेर्न थालें । त्यसपछि म यस्तो रहेछु भन्ने थाहा भयो । तर कसरी खुल्ने ? निकै गाह्रो थियो ।

सन् २०१३ तिरको कुरा,

खाली समयमा इन्टरनेटबाट मेरो जस्तो समूह खोज्न थालेँ । त्यसबेला फेसबुकका फेक आइडी र पेज -३ मा खोज्ने र साथी बनाउने काम गर्न थालेँ । एक जना मेरै समुदायको साथीसंग चिनजान भयो, पहिलो डेट हामी बसन्तपुर तिर गयौँ । पछि त्यहाँ नै अरु दुई तीन जना साथीसंग चिनजान भयो । त्यसपछि एक जना साथी निलहिरा समाजको आयोजनामा हुन लागेको ‘मिस्टर गे’ मा भाग लिन जाने कुरा गरे । उनको सहयोगी भएर म पनि साथै जाने गर्दथें त्यसैबेला देखि निलहिरा समाजबारे जानकारी मिल्यो । म विस्तारै यस संस्थासंग बाक्लिदै गएँ ।

पछि मलाई एक महिने इन्टर्नसिप पनि लिने मौका पाएँ ।
……………………………………………………………

निलहिरा समाजमा आवद्ध भएपछि झन् तनाव बढ्ने रहेछ । डर लाग्दो रहेछ । किनभने समाज त यहि हो नि । परिवार आफन्तलाई केही भन्देला कि, कसैले देख्ला कि ? खुब डर हुन्थ्यो । तर पछि विस्तारै मैले आफूलाई अपग्रेड गर्दै गएँ । सन् २०२१- २०२२ तिर म दिदी बहिनी भाई अंकल फुपुहरुबीच ‘ट्रान्स ‘ भनेर खुलिसकेको थिएँ । तर ड्याडी मम्मीसंग खुलेको एक महिना पनि पुरा भएको छैन ।

जव म आफन्तहरुसंग खुलें त्यसपछि हर्मोन प्रयोग गर्न थालेकी हुँ । फिमेल हर्मोनको प्रयोगले मेरो जीउको बनावट, नरम छाला, स्तन, आदिमा परिवर्तन हुँदै आएको छ । यो हर्मोनको प्रयोग हामीले जीवनभर गर्नु पर्दछ ।

…………………………………………………………

मेरो घरमा बोलाउने नाम अशोक थियो । अहिले डकुमेन्टमा चाहि अनुज छ । तर म आफूलाई पिटरको रुपमा चिनिन चाहन्छु ।
कक्षा ८ मा फारम भर्दा खेरी मम्मीले अशोक धेरैको नाम भयो भनेर परिवर्तन गरि अनुज राखिदिनु भएको हो । मेरो नागरिकता, पासपोर्ट र शैक्षिक प्रमाणपत्र आदि सबैमा अनुज नै छ ।

तर, म काठमाडौँ आईसकेपछि हाम्रो समुदायको साथीहरुसंग इन्टरनेटमा खोजी र कुराकानी गर्ने क्रममा एक जना चिनियाँ पुरुषसंग गहिरो दोस्ती बनेको थियो ।

हामी घण्टौ कुरा गर्दथ्यौं तर उ चीनमा म नेपालमा । उसको नाम पिटर थियो । मलाई निकै मन परेको नाम । तर हाम्रो भेटघाट असम्भव जस्तै भयो । त्यसैले त्यो मेरो मनपरेको मान्छेको नाम म आफैले राखें सधैका लागि र भने आफूलाई ‘पिटर’ ।
……………………………………………………………..

मंगोलियन परिवारको जेठो छोरा । उमेर पुगेपछि विहेको कुरा चल्नु स्वभाविक थियो । म यता राम्ररी खुलिसकेको थिएन ।

आफन्तहरुले एक जना हङकङ बस्ने केटीसंग इन्गेजमेन्ट पनि गरिदिनुभयो । तर मेरो मनले कहाँ मान्थ्यो । हामी काठमाडौँमा भेट हुन्थ्यौँ तर म उनीसंग तर्किरहन्थे । उनले कहिलेकाँही मलाई भन्थिन् ‘तिम्रो के खालको माया हो?’ नजिक नै हुन्नौँ । मैले पछि विस्तारै उनलाई सबै कुरा भनेर टाढिएँ ।

अहिले म पुरा सिङ्गल छु । मेरो विहे गर्ने रहर पनि छ । मेरो योजना अबको दुई देखि तीन वर्ष भित्र बुहारी बन्ने छ । म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ । तर मलाई बुझ्ने मान्छे मलाई माग्न घरमै आवस भन्ने चाहन्छु । म बुहारी भएर घरमा जाँदा पनि लुकेर होइन समाजमा देखिएर घर परिवार सबैको इज्यत धानेर बस्न चाहन्छु । आशा छ मेरो योजना अबको दुई तीन वर्षमा पुरा हुनेछ ।

(#कुराकानीमा आधारित ।)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *