विश्वको सबैभन्दा बृद्ध पुरुषको ११२ वर्षको उमेरमा निधन
लन्डन, ११ मंसिर । विश्वका सबैभन्दा बृद्ध पुरुषको ११२ वर्षको उमेरमा निधन भएको छ । बेलायती नागरिक जोन टिनिसवुडको सोमबार ११२ वर्षको उमेरमा निधन भएको हो ।
उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा उनको निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार परिवारलाई उदृत गर्दै बताएको छ ।
टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो । अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा बृद्ध पुरुष बनेका थिए । त्यसअघि सन् २०२० मा उनी बेलायतका सबैभन्दा बृद्ध व्यक्तिको रुपमा घोषित भएका थिए ।
“उहाँको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो”, परिवारले एक विज्ञप्तिमा भनेको छ, “वर्षौँदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।”
टाइटानिक जहाज डुबेको वर्ष जन्मिएका र दुवै विश्वयुद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई आफ्नो दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए । “तपाई या त लामो बाँच्नुहुन्छ वा तपाईँ छोटो बाँच्नुहुन्छ र तपाईँ यसका बारेमा धेरै गर्न सक्नुहुन्न”, उनले भनेका थिए ।
उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिने गरेका थिए । “यदि तपाई धेरै पिउनुहुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नुहुन्छ भने, यदि तपाईँले धेरै केही गर्नुभयो भने, तपाईँले अन्ततः कष्ट भोग्नुहुनेछ”, उनले भन्ने गरेका थिए ।
दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गरेका उनी पछि शेल र बिपी जस्ता तेल कम्पनीहरूमा हिसाब किताबको काम गरेका थिए । उनी लिभरपुल फुटबल क्लबका आजीवन समर्थक थिए भने हरेक शुक्रबार माछा र चिप्स खाने गर्दथे । विश्वको सबैभन्दा बृद्ध व्यक्ति जापानकी ११६ वर्षीया महिला टोमिको इटुका अहिले सम्म जिवीत छिन् ।
सम्पर्क इमेल : [email protected]