चिकित्सा शिक्षा आयोगको १५ औँ पूर्ण बैठक बालुवाटारमा बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, ९ मंसिर । चिकित्सा शिक्षा आयोगको १५औँ बैठक आज बस्दैछ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक अहिले विहान ११ बजे बालुवाटारमा बस्ने भएको हो ।

सदस्यहरुलाई उपलव्ध गराईएको कार्यसूचीमा विभिन्न नौ वटा विषयमा छलफल हुने छ । तर यसपटक चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहमा अध्ययन् गर्ने विद्यार्थीलाई उपलव्ध गराउन भनिएको निर्वाह भत्ता र त्यसमा निजी मेडिकल कलेजहरुको असहमतिको विषय उल्लेख छैन ।

गत शुक्रबार प्रधानमन्त्री ओलीले आयोग, विश्वविद्यालयका अधिकारी, निजी मेडिकल कलेजका प्रतिनिधिहरुसंग छलफल राखी यी विषयलाई तत्काल टुंग्याउन निर्देशन दिएका थिए तर बैठक अघिसम्म ती विषयले निकास पाउन सकेको छैन ।

आजको बैठकमा निजी मेडिकल कलेजका प्रतिनिधिहरुले यो विषयलाई उठान हुने बताई सकेका छन् । आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले आफूहरु पुरानै अडानमा रहेको जानकारी दिएका छन् । यो अवस्थामा प्रधानमन्त्रीले के गर्दछन् त्यो भने हेर्न बाँकी छ ।

निजी मेडिकल कलेज सञ्चालकहरुको संस्थाका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले निर्वाह भत्तालाई सरकारी कर्मचारीको तलव सरह तोकिएको भन्दै विद्यार्थीहरुलाई तलव नभई भत्ता उपलव्ध गराउने प्रावधान रहेको र त्यो आयोगले तोके अनुसार आफूहरुले दिन नसक्ने बताइसकेका छन् ।

यस्ता छन् आज तोकिएका बैठकका एजेन्डा:

१. आर्थिक वर्ष २०८०/०८१ मा आयोगद्वारा सम्पादित प्रमुख कार्य र उपलब्धिहरूको समीक्षा,

२. राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७४ को दफा ४ को उपदफा (२) बमोजिम आयोगको लोगो स्वीकृति सम्बन्धी,

३. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिस सम्बन्धी,

४. आर्थिक वर्ष २०८१/०८२ को लागि स्वीकृत आयोगको वार्षिक बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी,

५. चिकित्सा शिक्षा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमका लागि दिइएको छात्रवृत्ति / सञ्चालन खर्चको मापदण्ड स्वीकृति सम्बन्धी,

६. राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३९ को प्रावधान अनुसार चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि सम्बन्धी,

७. चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था र शैक्षिक कार्यक्रम टुक्रयाई स्वामित्व हस्तान्तरण र स्थानान्तरण सम्बन्धी,

८. चिकित्सा शिक्षातर्फ छात्रवृत्तिमा अध्ययन गरी बीचमै अध्ययन छाडेका विद्यार्थीहरूका सम्बन्धमा,

९. विविध।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *