स्वास्थ्य मन्त्री पौडेल गाभीको बोर्ड मिटिङमा सहभागी हुन बाली जाने
काठमाडौँ, ८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल मंसिरको तेस्रो साता इन्डोनेशियाको बाली जाने भएका छन् ।
आगामी १९ र २० मंसिरमा बालीमा हुने गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेसन) को डिसेम्बर २०२४ बोर्ड बैठकमा सहभागी हुन त्यस तर्फ जाने भएका हुन् ।
विहीबारको मन्त्रिपरिषद् बैठकले सरकारलाई थप आर्थिक व्यहभार पर्ने गरी सो बैठकमा सहभागी हुनका लागि स्वास्थ्य मन्त्री पौडेललाई स्विकृत प्रदान गरिसकेको छ ।
गाभी नेपालको खोप कार्यक्रममा सबैभन्दा ठूलो सहयोगी संस्था हो ।
सन् २०१४ – १५ तिर तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारी नेपालका तर्फबाट गाभी बोर्डमा सदस्य थिए । त्यसपछि आएका स्वास्थ्य मन्त्री गगन थापाले वाेर्डमा रहेका अधिकारीलाई हटाएर अर्को व्यक्तिलाई नियुक्तीका लागि सिफारिस त गरेका थिए तर सफल हुन सकेनन् ।
पछिल्लो पटक तत्कालीन स्वास्थ्य मोहनबहादुर बस्नेतले पनि गाभीको बोर्डमा नेपालका तर्फबाट अर्का एक व्यक्तिको नाम सदस्यका लागि सिफारिस गरेका थिए । तर त्यो पनि सफल हुन सकेको थिएन ।
यसपटक मन्त्री पौडेललाई गाभीले सम्पूर्ण खर्च व्यवहोर्ने गरी निमन्त्रणा गरेको छ । उनको सहभागिताले खोपका क्षेत्रमा थप सहयोग हुने अपेक्षा गरिएको छ ।
सम्पर्क इमेल : [email protected]