नेपालमै पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो
काठमाडौँ, ७ मंसिर । नेपालमै पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइएको छ । ३८ वर्ष अघि क्यानडाको ओटावामा भएको स्वास्थ्य प्रवर्द्धन सम्वन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भ पारेर स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल (हेपेन)ले बिहीबार काठमाडाँैमा यो दिवस मनाएको हो ।
स्वास्थ्य प्रवर्द्धन आजको आवस्यकतास्दीगो स्वास्थ्यको सुनिश्चितता भन्ने मुल नाराका पहिलो पटक मनाइएको यो दिवसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंह, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशबराज पण्डित, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरे, नेपाल चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारी लगायत स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालका महासचिव डा. भक्त केसीले स्वास्थ्य प्रवर्द्धन विधा तथा पेशालाई आम सरोकारवाला माझ चिनाउने र यसको महत्व बुझाउने उदेश्यका साथ यो दिवस मनाउन थालिएको बताए । सो अवसरमा उनले स्वास्थ्य प्रवर्द्धन दिवसको पृष्ठभूमि र औचित्य सहित नेपालका स्वास्थ्य समस्याहरू समाधानमा स्वास्थ्य प्रवर्द्धनको बुझाई” विषयमा प्रस्तुति समेत दिएका थिए ।
उक्त प्रस्तुतीमा स्वास्थ्य प्रवर्द्धनको आधारभूत जानकारीलाई समेट्दै, स्वास्थ्यमा दीर्घकालीन सुधारको लागि मार्गचित्र, नेपालमा स्वास्थ्यका अपेक्षित उपलब्धिहरु प्राप्त गर्न स्वास्थ्य प्रवर्द्धनले अंगिकार गरेका मूलभूत सिद्दान्तहरु खास गरी जवाफदेहिता शशक्तिकरण र सहभागीता अवलम्वन गर्नु पर्ने कुरा सुझाएको छ । खासगरी नसर्ने रोगको महामारीलाई सम्वोधन गर्न स्वास्थ्यका वृहत्तर निर्धारकहरुलाई विचार गर्नु पर्ने भन्दै यसको सम्वोधनको लागि स्वास्थ्य प्रवर्द्धनका लागि आवश्यक रणनीतिहरु समेत पेश गरिएको थियो ।
कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव डा. सिंहले नेपालले पहिलो पटक मनाउन थालिएको दिवसमा सहभागि हुन पाउनु खुशीको कुरो भन्दै यस्ता कार्यले स्वास्थ्य सचेतना र यसको महत्व अझ बुझाउने बताए । उनले यसले अन्य राष्ट्रहरूको लागि पनि एक सिकाई हुने धारणा राखे । उनले स्वास्थ्य प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन विभिन्न सरोकारवालाहरू माझ स्वास्थ्य प्रवर्द्धनका लागि पैरवी गर्ने, स्वास्थ्य प्रवर्द्धन मापनका लागि सूचकहरूको विकास गर्ने, पर्याप्त बजेट विनियोजन गर्ने र स्वास्थ्य साक्षरतालाई बढाउनु पर्ने लगायतका सुझाव दिए ।
यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक केशवराज पण्डितले अर्को वर्षदेखि यो दिवसलाई राष्ट्रियस्तरमा मनाउन प्रतिबद्धता जनाउँदै बजेट विनियोजन गरिने प्रतिवद्धता जनाए ।
यस्तै केन्द्रकै पूर्व निर्देशक रमेशचन्द्र न्यौपानेले नेपालमा कम्तिमा एक विश्वविद्यालयले स्वास्थ्य प्रवर्द्धन विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा नेपाल चिकित्सक संघका महासचिव डा संजिव तिवारीले दुरदराजका स्वास्थ्य समस्याहरु समाधान गर्न ठाउँ र बस्तु स्तिथितिमा आधारित योजना निर्माणको आवश्यकता औंल्याउँदै हेपेन द्वारा नेपालमा राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाउन शुरु गरेको कदमलाई प्रशंसा गरे ।
कार्यक्रमको समापन हेपेनका कार्यवाहक अध्यक्ष हेमराज खड्काले गरेका थिए । सो अवसरमा बोल्दै उनले यो दिवसले स्वास्थ्य प्रवर्द्धनको महत्वलाई उजागर गर्दै समाजमा स्वास्थ्य सचेतना र सशक्तीकरणका नयाँ आयामहरू खोल्ने अपेक्षा व्यक्त गरे । साथै उनले स्वास्थ्य प्रवर्द्धन दिवसले स्वास्थ्य सुधारमा सबैको साझा जिम्मेवारी हुन्छ भन्ने तथ्यलाई स्मरण गराउदै बिधमान स्वास्थ्य प्रणाली सुदृढ गर्न र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्यको जिम्मा लिन सशक्त बनाउन प्रतिबद्धता हुनु पर्छ भन्ने कुरामा जोड दिएको बताए ।
स्वास्थ्य प्रवर्द्धन सम्वन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भमा बिहीबार पहिलो पटक नेपालमा यो दिवस मनाइएको हो ।
कार्यक्रमको संचालन हेपेनकाका महासचिव डा केसी तथा कोषाध्यक्ष विनोद कुमार अर्यालले गरेका थिए । सहभागिहरुलाई स्वागत भने सदस्य शीला श्रेष्ठले गरेकी थिईन् ।
सम्पर्क इमेल : [email protected]