चिकित्सा शिक्षा आयोगको १५औँ बैठक आइतबार बस्दै, यस्ता छन् बैठकका लागि तय गरिएका नौ एजेण्डा
काठमाडौँ, ७ असार । चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) तहको भर्नाका विषयमा यसपटक निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोग आमने सामने भएर विवादमा उत्रिएका छन् । यसबीचमै आइतबार आयोगले आफ्नो पन्ध्रौ बैठकको आयोजना गर्दैछ ।
आयोग अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा निजी मेडिकल कलेजमा पीजी भर्नाका विषयमा यसपटक देखिएको विवादले पनि निकास पाउने अनुमान थियो तर सदस्यहरुलाई दिइएको बैठकका एजेण्डामा सो विषय उल्लेख छैन ।
आयोगले आफ्ना सदस्यहरुलाई आइतबार बस्ने बैठकका मुख्य एजेण्डाको रुपमा नौ विषय पठाएको छ । त्यसमा पीजी भर्नामा देखिएको विवादको विषय कहि कतै उल्लेख छैन ।
‘प्रधानमन्त्री स्वयं अथवा आयोग पदेन सदस्य भएका निजी मेडिकल कलेज सञ्चालकका प्रतिनिधि वा अरु कोही सदस्यहरुले पक्कै त्यो विषय उठाउलान नै । छलफल पनि होला कि तर एजेण्डामा भने छैन,’ आयोगका एक सदस्यले भने ।
उनका अनुसार बैठकका एजेण्डामा धेरै जसो आयोगको नियमित कामका विषयमा छन् । एक दुईवटा भने नयाँ देखिएको छ ।
ती सदस्यका अनुसार एजेण्डामा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षादेखि चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि सम्बन्धी विषयमा छलफल हुने छन्। यस्तै केही नीतिगत विषय पनि छलफल र निर्णय हुने अपेक्षा गरिएको छ ।
के के छन् आयोगको १५ औँ बैठकका लागि तय गरिएका एजेण्डा ?
१. आर्थिक वर्ष २०८०/०८१ मा आयोगद्वारा सम्पादित प्रमुख कार्य र उपलब्धिहरूको समीक्षा,
२. राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७४ को दफा ४ को उपदफा (२) बमोजिम आयोगको लोगो स्वीकृति सम्बन्धी,
३. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिस सम्बन्धी,
४. आर्थिक वर्ष २०८१/०८२ को लागि स्वीकृत आयोगको वार्षिक बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी,
५. चिकित्सा शिक्षा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमका लागि दिइएको छात्रवृत्ति र सञ्चालन खर्चको मापदण्ड स्वीकृति सम्बन्धी,
६. राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३९ को प्रावधान अनुसार चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि सम्बन्धी,
७. चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था र शैक्षिक कार्यक्रम टुक्रयाई स्वामित्व हस्तान्तरण र स्थानान्तरण सम्बन्धी,
८. चिकित्सा शिक्षातर्फ छात्रवृत्तिमा अध्ययन गरी बीचमै अध्ययन छाडेका विद्यार्थीहरूका सम्बन्धमा,
९. विविध।
सम्पर्क इमेल : [email protected]