‘एन्टीबायोटिकले कामै नगर्ने अवस्था कसरी आउँछ ?’ सञ्चारकर्मीलाई सिकाउँदै देखाउँदै
काठमाडौँ, ७ मंसिर । ‘घाँटी सामान्य खसखस गर्दा होस या सामान्य ज्वरो आउँदा, हामीले त्यसलाई खासै ठूलो स्वास्थ्य समस्या मान्दैनौँ । त्यसैले चिकित्सकलाई पनि भन्दैनौँ र परामर्श पनि लिदैनौँ तर जब औषधि पसलमा जान्छौँ, त्यहाँ गएर आफै एन्टीबायोटिक औषधि माग्छौँ र खान्छौँ ।’
‘स्वास्थ्य समस्या सामान्य ठान्ने र चिकित्सकलाई नभन्ने तर औषधि पसलमा गएर एन्टीबायोटिक औषधि नै छान्ने हाम्रो बानीले शरीरलाई भित्रभित्रै हानी गरिरहेको हुन्छ ।’
कसरी ?
सामान्य स्वास्थ्य समस्या हुँदा समेत एन्टीबायोटिक प्रयोग गर्ने बानीले पछि एन्टीबायोटिक नै लिनु पर्ने अवस्था आयो भने राम्ररी काम नगर्न सक्छ । त्यो अवस्थालाई एन्टीबायोटिक रेसिस्टेन्ट अर्थात प्रतिजैविक प्रतिरोध भनिन्छ ।
बुधबार विहान थापाथलीमा भेला भएका केही सञ्चारकर्मीलाई अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट (अक्रु) नेपालको विज्ञ समूहले यहि विषयमा बुझाउने प्रयास गरेको थियो । सो समूहले सञ्चारकर्मीलाई सैद्धान्तिक ज्ञान मात्रै दिएन, प्रयोगशालामै लगेर ब्याक्टेरियाको फैलावट कसरी हुन्छ ? एन्टीबायोटिकको समुचित प्रयोग गर्दा यसले कसरी काम गर्दछ भनेर नमूना नै देखायो ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (१८ – २४ नोभेम्बर)को अवसर पारेर अक्रु नेपालले सञ्चारकर्मीलाई यसबारेमा बुझाउने प्रयास गरेको हो ।
अक्रु नेपालकी प्रयोगशाला प्रमुख डा. सविना डंगोलले शरीरमा भएको खराब खालको ब्याक्टेरिया कसरी फैलन्छ ? रगतबाट कसरी जाँच गरिन्छ भनेर देखाएकी थिईन । सो अवसरमा उनले एन्टीबायोटिक खानु अघि स्वास्थ्य समस्या भएको व्यक्तिले चिकित्सकसंग जाँच र परामर्श गर्नै पर्नेमा जोड दिईन् । उनले त्यसका लागि सचेतनाको जरुरी छ भन्दै सञ्चारकर्मीले यसबारेमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्भाह गर्न सक्ने बताईन् । ‘कृपया एन्टीबायोटिकको जथाभावी प्रयोगले हुने असर बारेमा तथ्यगत रुपमा आज नागरिक समक्ष खबर पुर्याईदिनुहोला,’ उनले भनिन् ।
त्यसअघि अक्रु नेपालकै माइक्रो बायोलोजिष्ट डा. सुलोचना मानन्धर र पब्लिक इन्गेजमेन्ट म्यानेजर अशता दाहालले प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक रेसिस्टेन्ट) भनेको के हो ? यसबारेमा किन सचेतना फैलाउनु पर्ने आवश्यकता पर्यो, एन्टीबायोटिकको समूचित प्रयोग कसरी गर्न सकिन्छ ? र, यो किन आवश्यक छ ? भन्ने बारेमा जानकारी गराएका थिए ।
एन्टीबायोटिकको दुरुपयोगले कसरी निम्त्याउँदैछ स्वास्थ्य संकट ?
ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेजिस्ट्यान्सले सन् १९९० देखि सन् २०१९ को बीचमा हरेक वर्ष १० लाख मानिसको मृत्यु एन्टिबायोटिक प्रतिरोध कै कारणले भएको देखाएको छ । उपलब्ध तथ्याङ्कको आधारमा, प्रमुख एन्टिबायोटिकहरूको प्रतिरोध दर सन् २००१ मा लगभग १६ प्रतिशतबाट सन् २०२० मा ४४ प्रतिशतमा बढेको देखिन्छ ।
ल्यान्सेटमा प्रकाशित एउटा नयाँ अध्ययनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)ले सन् २०५० सम्ममा ३ करोड ९० लाखभन्दा बढी मानिसको ज्यान लिन सक्ने अनुमान गरेको छ । विश्व बैंकले सन् २०१७ मा प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सका कारण विश्वले वार्षिक ३.४ खर्बसम्म आर्थिक घाटा व्यहोर्नुपर्ने हुन सक्छ ।
त्यसैले विश्व स्वास्थ्य संगठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई १० प्रमुख स्वास्थ्य चुनौतीमा सामेल गरेको छ ।
एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई पराजित गर्ने उपाय भनेको एन्टिबायोटिकको विकल्प खोज्नु वा नयाँ एन्टिबायोटिक पत्ता लगाउनु हो । यी दुवै गर्न अहिलेसम्म वैज्ञानिकहरु सफल भएका छैनन् ।
पछिल्लो एन्टिबायोटिक सन् १९८७ मा पत्ता लागेको थियो र एक एन्टिबायोटिक विकास गर्नको लागी औसत लागत १.५ बिलियन अमेरिकी डलर सम्म हुन सक्ने वैज्ञानिकले आँकलन गरेका छन् ।
यसर्थ पनि एन्टीबायोटिक रेसिस्टेन्स हुने अवस्थामा नपुग्नका लागि व्यक्ति स्वयं सचेत बनेर यसको समुचित प्रयोग मात्रै गर्नु पर्ने विज्ञहरु बताउँदै आएका छन् ।
नयाँ महामारी ‘सुपरबग्स’ को उदय : यो के हो ? कसरी गर्ने नियन्त्रण ?
सम्पर्क इमेल : [email protected]